आधारभूत माविले सञ्चालनमा ल्यायो पशु फर्म, कुखुरा–बाख्रा संगै माछापालन गर्दै

रामपुर नगरपालिका ७ तुरुन्दी खोला नजिकै रहेको पशु फर्म

पाल्पा, पछिल्लो समय गाउँ देखि शहर सम्म प्राविधिकधारको शिक्षा सञ्चालन भैरहेको छ । विशेष गरी कृषिबाली विज्ञान, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ्ग क्षेत्रका कक्षाहरु विद्यालयस्तर बाटै सञ्चालनमा रहेका छन् । तर सैद्धान्तिक संगै प्रयोगात्मक विधी बाट पठनपाठन हुने विद्यालयहरुमा व्यवहारिक ज्ञानको लागि उपयुक्त वातातावरण तयार हुन भने सकेको छैन ।

जसका कारण व्यवहारिक ज्ञानको लागि अन्य फर्म र साईटहरुमा निर्भर हुन बाध्य छन् । यता पशु विज्ञान कक्षा सञ्चालन गर्दै आएको रामपुर नगरपालिका –७, डुम्रीगाउँ स्थित आधारभूत माध्यमिक विद्यालयले भने आफ्नै नमुना पशु फर्म सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान संगै आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालयले ३० रोपनी जग्गा लिजमा लिएर आफ्नै लगानीमा फर्म सञ्चालन गर्न थालेको हो । विद्यालय भन्दा केही पर तुरुन्दी खोला छेउमा फर्म सञ्चालनमा ल्याएको हो । फर्ममा माछा पोखरी, गाईको गोठ, बाख्रा, बंगुर, हाँस, स्थानीय तथा ब्रोईलर कुखुराको खोर निर्माण गरी पाल्न सुरु गरिसकेको छ । तत्कालको लागि बस्ने घर निर्माण गरी हेरालुको सहयोगमा फर्म सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले पशु विज्ञान अध्ययनरत विद्यार्थीहरुलाई सिपमुलक, व्यवहारिक ज्ञान हासिल गर्न सहजताको लागि विद्यालयले आफ्नै लगानीमा फर्म सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पशु विज्ञान त सञ्चालन ग¥यौं । प्रयोगात्मक कक्षाको लागि अरुको गोठ र फर्ममा मात्र पठाएर कति दिन सकिन्छ र ? त्यसैले विद्यालयले महायज्ञ बाट संकलन भएको रकम बाट फर्म सञ्चालन सुरु गरेको हो ।’ गौतमले झण्डै १३ लाखको लागतमा रेखदेखको लागि बस्ने घर, २ वटा माछा पोखरी, हाँस, लोकल कुखुरा, ब्रोईलर, बाख्रा, बंगुरको खोर, गाईको गोठ निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य कुनै निकाय बाट फर्म सञ्चालनको लागि सहयोग आएको छैन । आफ्नै लगानीमा थालनी गरेका छौं ।’

विद्यालयले आफ्नै लगानीमा फर्ममा निर्माण गरिएको १ रोपनीको माछा पोखरीमा कामन कार्प, सिल्भर कार्प, ग्रास कार्प, नैनी र रहु प्रजातिका १ हजार ९ सय माछा राखिएको छ । त्यस्तै १ सय ५० ब्रोईलर, ३५ वटा स्थानिय जातको कुखरा, ३० वटा कोईलर, ८ वटा हाँस, ८ वटा बाख्रा, ४ वटा बंगुर पाल्न थालेको छ । १ वर्ष देखि सञ्चालन गरिएको फर्ममा विद्यार्थीहरुले पनि पालै पालो काम गर्ने गर्दछन् । विद्यालयका भेटेनरी संयोजक डाक्टर निरज श्रेष्ठले फर्म सञ्चालन पछि प्रयोगात्मक अभ्यासको लागि सहज भएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘विद्यार्थीहरुलाई नै सक्रिय बनाएर प्रयोगात्मक अभ्यास गराउन निकै सहज भएको छ ।’ संयोजक श्रेष्ठले नेपाल सरकारले बनाएको कोर्षको आधारमा पशुपालन गर्ने तरिका, रोगको व्यवस्थापन, रोगको गरिकाको बारेमा विद्यार्थीहरुलाई फर्म मै लगेर सिकाउने गरिएको बताउनुभयो । कक्षा नौ देखि १२ सम्म पशु विज्ञानको अध्यापन हुँदै आएको विद्यालयका विद्यार्थीहरुलाई कक्षा अनुसार पालैपालो लैजाने गरिएको जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले विद्यार्थीले कोर्ष मात्रै पढ्ने र अरुकोमा गएर प्राक्टिकल गरेर मात्र नहुने रहेछ भनेर १० वर्षको लागि लिजमा लिएर फर्म सुरु गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सिकाई संगै पढाई खर्च जोहो गरी आम्दानी गर्न सक्ने योजनाको साथ फर्मलाई अघि बढाउने प्रयास गरिरहेको बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘फर्म सञ्चालन गरे पछि समुह बनाएर सोही अनुसार खोर तयार गर्ने, सामग्री खरिद गर्न विद्यालयले लगानी गर्ने, मेहेनत विद्यार्थीले गर्ने र नाफा पनि विद्यार्थीले गरोस् । घर जाँदा चाड मान्न बुवाआमालाई पढाई खर्च कटाएर दिन पनि सकोस् भन्ने ध्येयका साथ विद्यालय लागेको छ ।’ भट्टराईले विद्यार्थीहरुलाई अहिले काम गर्ने र दुईचार हजार कमाउन सक्ने बनायौं भने भोली यही क्षेत्रमा लागुन भन्ने उद्देश्यले फर्म सञ्चालन गरेको जानकारी गराउनुभयो ।

अध्यक्ष भट्टराईका अनुसार कृषि समुह, सहकारी, फर्म र व्यक्तिलाई अनुदान भए पनि विद्यालयमा फर्म सञ्चालन गर्न दिने सरकारको प्रावधान नभएकाले समस्या परेको बताउनुभयो । अन्य प्रयोजनको लागि बजेट प्राप्त भए मन्त्रालयमा जाँदा फर्म सञ्चालनको दिन नमिल्ने बताएकाले समस्या भएको बताउनुभयो । साथै विद्यालयले सुरुवात गरेको कार्यले मन्त्रालयका पदाधिकारीहरुले पनि यस तर्फ सोच्न थालेको बताउनुभयो । देशैभर पशु विज्ञान लोप हुँदै गैरहेको अवस्थामा २०७४ असार २ गते बाट विद्यालयले ९ कक्षा बाट भर्ना सुरु गरेको थियो । हाल ९ देखि १२ सम्ममा पाल्पा र स्याङ्जाका ६१ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा अहिले पशु विज्ञान तर्फ १० जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेको छ । साथै विद्यालयले कृषकहरुको सहजताको लागि भेटेनरी क्लिनिक र ल्याव पनि सञ्चालनमा ल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?