शहीद क्याम्पसले पायो एम.वि.एस. कक्षा सञ्चालनको अनुमति

पाल्पा, गण्डकी बेशी क्षेत्र कै पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाले व्यवस्थापन संकायमा स्नातकोत्तर तहको कक्षा (एम.वि.एस.) सञ्चालनको अनुमति प्राप्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त देशै भरका २३ वटा सामुदायिक क्याम्पसलाई श‌ैक्षिक वर्ष २०७८/७९ देखि व्यवस्थापन संकायमा एमविएस सञ्चालन अनुमति दिने क्रममा शहीद बहुमुखी क्याम्पसले पनि स्वीकृति पाएको हो । २०४८ सालमा स्थापना भई त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त क्याम्पसमा कक्षा ११/१२ देखि स्नातक सम्म शिक्षा, व्यवस्थापन र मानविकी संकायमा पठन पाठन हुँदै आएको थियो । भने शिक्षा संकायमा २०६७ देखि स्नातकोत्तर सम्मको पढाई हुँदै आएको थिय‍ो ।

शहीद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले यस अघि नेपाली र ईपिएममा एम.एड.को कक्षा सञ्चालन हुँदै आएकोमा अहिले व्यवस्थापन तर्फ पनि एम.वि.एस कार्यक्रम सञ्चालनको लागि स्वीकृति पाएको बताउनु भयो । क्याम्पसले यसै शैक्षिक सत्रको लागि भर्ना सुरु गरेर कक्षा सञ्चालन गर्नका लागि तयारी गरिसकेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को असार २८ गतेको बैठकले स्वीकृति प्रदान गरेको शहीद बहुमुखी क्याम्पस सञ्चालक समिति उपाध्यक्ष नेत्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । सोही अनुसार सम्बन्धन प्राप्त गर्ने क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले शुक्रबार सुचना जारी गरि सम्बन्धन शुल्क जम्मा गर्न आग्रह गरेको छ । क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तह सम्म ९ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षा सञ्चालन भए संगै यस अघि व्यवस्थापन संकायमा स्नातकोत्तर तह अध्ययन गर्न बाहिर जानु पर्ने गण्डकी बेशी क्षेत्रका विद्यार्थीहरुको बाध्यता हटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?