पाल्पा, रामपुर नगरपालिका भित्रका विद्यालयहरु आईतबार देखि भौतिक उपस्थिति मै सञ्चालन हुने भएको छ । कोरोना महामारीको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाका कारण गत चैत्र देखि थप्प भएका विद्यालयहरु सञ्चालनमा आउने भएको हो ।
डिसिएमसिको सिफारिसमा पाल्पाका प्रमुख जिल्ला अधिकारीले गत भाद्र २३ गते जारी गरेको आदेश तथा नेपाल सरकारको स्मार्ट लकडाउनको प्रावधान बमोजिम संक्रमणको जोखिम मूल्याङ्कन गरी स्थानीय तहहरुले भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न/नगर्ने निर्णय गर्न सक्ने व्यवस्था अनुसार नगरपालिकाले विद्यालय सञ्चालन गर्न लागेको हो । शुक्रबार सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्धारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट जारी स्वास्थ्य मापदण्डहरुको पूर्ण रुपमा पालना हुने गरी पूर्ण सतर्कताका साथ विद्यालय सञ्चालन गर्न अनुरोध गरेको हो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘सरोकालवालाहरु संग आवश्यक समन्वय गरी शिक्षक र विद्यार्थीहरुको भौतिक उपस्थितिमै सिकाई सहजीकरण गर्ने वातावरण बनाई मिति २०७८/०५/२७ गते देखि नियमित रुपमा विद्यालय सञ्चालन गर्नुहुन अनुरोध छ ।’ नगर भित्रका विद्यालयहरुमा यस अघि अनलाईनको माध्यम मार्फत कक्षा सञ्चालन हुँदै आएको थियो ।