सुझाव संकलन तथा भावी रणनितीको बारे जानकारी दिन रामतुलसीको पत्रकार सम्मेलन

पाल्पा, नमुना विद्यालयको रुपमा स्थापित रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाले बुधबार पत्रकार सम्मेलन गरेको छ । विद्यालयले स्थापनाको ५४ औं वार्षिकोत्सब तथा अभिभावक दिबसको पूर्व सन्ध्यामा विद्यालयको चौतर्फी विकासका लागि सुझाव संकलन गर्न तथा भावी रणनीतिको बारेमा जानकारी दिन सम्मेलन गरेको हो ।
      विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा विद्यालयका सरोकारवालाहरु सहितको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुले विद्यालयले गरेको प्रगति गण्डकी बेशी क्षेत्रको लागि गौरवको विषय भएको बताउँदै शैक्षिक पर्यटनको विकास र पहिलो विज्ञान संकाय सञ्चालन भएकाले विएससी र विएसएजिको कक्षा सञ्चालनको लागि बहसको थालनी गर्नु आवश्यक रहेको बताएका थिए । पत्रकारहरुले विद्यालयको लागि आवश्यक सहयोग गर्न सदा तयार रहेको बताएका थिए ।
    पत्रकार बासुदेव ढकाल, दुर्गेश मल्ल, कृष्ण प्रसाद पौडेल, रमा भण्डारी, दान बहादुर हिस्की, सञ्जु परियार लगाएतले सुझाव सहित विद्यालयको बारेमा जिज्ञासा राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेल पत्रकारहरु जिज्ञासा मेटाउँदै विद्यालयले गुरु योजना निर्माण गरी समुदायको चाहाना र आवश्यकता अनुसार कार्यान्वयन गर्दै आएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वर्तमान अवस्थाको बारेमा बताउँदै कोभिडका कारण दुई वर्ष सम्म प्रभावित भएको वार्षिक उत्सव कार्यक्रम विद्यार्थीहरुको चाहाना अनुसार मंसिर २७ गते देखि सञ्चालन गर्दै आएको बताउनुभयो ।
     त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ऋषिराम भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण सुनाम, भोजराज भट्टराई, रामतुलसी मावि भूपू विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कंडेलले विद्यालय वर्तमान अवस्था सम्म आउनका लागि धेरैको योगदान रहेको र अझ अघि बढाउन सबैको सहयोगको खाँचो रहेको बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक बालकृष्ण लम्सालले गर्नु भएको थियो ।
     पाल्पाको पूर्वी क्षेत्रको पहिलो माध्यमिक विद्यालयको रुपमा स्थापित विद्यालयमा अहिले २ हजार २ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने भण्डै १ सय शिक्षक कर्मचारी कार्यरत रहेका छन् । विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा बाल कक्षा देखि १२ सम्मको अध्यापन हुँदै आएको छ । साथै ११/१२ मा विज्ञान शंकाय र ३ वर्षे कृषि बालीविज्ञान पनि सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?