पाल्पा, गंगा माध्यमिक विद्यालय रामपुर नगरपालिका–८, एक्लेटार पाल्पामा कक्षा ११ र १२ मा विज्ञान संकायको अध्यापन हुने भएको छ । नमुना विद्यालयको रुपमा रहको गंगा माविले यसै वर्ष देखि विज्ञान संकायको अध्यापन सुरु गर्न लागेको हो ।
सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यसै वर्ष देखि विज्ञान संकायको अध्यापन सुरु गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले कटुवाल खबरलाई जानकारी दिनुभयो । “यस अघि नै विज्ञान संकाय अध्यापनको लागि अनुमति लिएर बसेका थियौं । विद्यार्थीको माग र आवश्यकतालाई मध्यनजर गर्दै आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यसै वर्ष बाट विज्ञान संकायको कक्षा सुरु गर्ने निर्णय गरेको हो ।”
विद्यालयमा यस अघि कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन भैरहेको थियो । साथै ३ वर्ष यता विद्यालयमा प्राविधिकधार तर्फ ३ वर्षे पशु विज्ञान कक्षा सञ्चालन हुँदै आएको थियो । विद्यालयले विज्ञान संकाय कक्षा सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार तयार संगै अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनारायण अर्यालले बताउनुभयो ।
अंग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन हुँदै आएको गंगा माध्यमिक विद्यालयमा हाल ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नमुना विद्यालयको रुपमा रहेको गंगा माविमा सुविधा सम्पन्न पर्याप्त भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, पर्याप्त खेल मैदान, स्तरिय चमेनागृह रहेको विद्यालयले जनाएको छ ।