पाल्पा , माध्यमिक विद्यालय तह स्तरिय बक्तृत्वकला प्रतियोगिता रामपुर पाल्पामा सम्पन्न भएको छ ।
रामपुर नगरपालिकाको आयोजनामा नगर भित्रका मावि तहका विद्यालयका विद्यार्थीहरुको सहभागितामा प्रतियोगिता आईतबार सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा पाल्पाको आयोजना र पाल्पाली संगम समाज अमेरिकाको प्रायोजनमा आगामी जेठ ३१ गते आयोजना हुने जिल्ला स्तरिय प्रतियोगिताको छनौटका लागि प्रतियोगिता भएको हो । रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेको अध्यक्षतामा भएको प्रतियोगिता रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको बोल्ने कलाको विकास संगै नेतृत्वको विकास गर्ने बताउनुभयो । साथै समाजमा व्याप्त विकृति विसंगति विरुद्ध बोल्नका लागि यस्ता कार्यक्रम मार्फत सघाउ पुग्ने बताउनुभयो ।
यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले विजयी विद्यार्थीहरुलाई जिल्ला स्तरिय प्रतियोगितामा पनि सफलता हासिल गरेर नगरपालिकाको नाम उच्च राख्न आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक सिमादेवि थापा , नेपाल रेडक्रस सोसाईटि रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईले बोल्दै विद्यार्थीहरुलाई बधाई सहित जिल्ला स्तरिय प्रतियोगिताको लागि सफलताको शुभकामना दिनुभयो । रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।
नगरभित्रका १३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम भानुभक्त माध्यमिक विद्यालय रामपुर १० का मिलन खनाल क्षेत्री , रामतुलसी माध्यमिक विद्यालय रामपुर वेझाँडका सुरक्षा घिमिरे द्धितिय , आधारभुत माध्यमिक विद्यालयका महमद अब्दुला मिया तृतिय र भूपू सैनिक राईजिङ ईङ्लिस बोर्डिङ स्कुलका सभ्यता जिसि सान्तवना भएका छन् । रक्तदान जिवनदान भन्ने विषयमा भएको प्रतियोगितामा प्रथम ,द्धितिय , तृतिय र सान्तवना हुने विद्यार्थीले क्रमश नगद ९ हजार ,७ हजार , ५ हजार र २ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । यसैविच आगामी जेठ ३१ गते नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखाको आयोजनमा तानसेनमा हुने जिल्ला स्तरिय प्रतियोगितामा सहभागि हुनका लागी प्रथम र द्धितिय हुने मिलन खनाल क्षेत्री र सुरक्षा घिमिरे छनौट भएका छन् ।