गर्मी बढेपछि रामपुर नगरका ३ विद्यालयमा विहानी कक्षा सञ्चालनमा

पाल्पा, गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिका भित्रका केही विद्यालयहरुले विहानी कक्षा सञ्चालन गरेका छन् । दिउँसोको समयमा अत्याधिक बढ्नाले विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिनुका साथै पठनपाठन क्रियाकलाप सञ्चालनमा कठिनाई भएपछि विहानी कक्षा मार्फत पठन पाठन थालेका हुन् ।

रामपुर नगरपालिका–५ स्थित रामपुर आधारभूत विद्यालय, रामपुर २ स्थित कृष्णादेवी माध्यमिक विद्यालय र रामपुर १ स्थित ज्ञानमञ्जरी प्राथमिक विद्यालयले असारको पहिलो हप्ता देखी विहानमा कक्षा सञ्चालन गर्दै आईरहेको रामपुर नगरपालिका शिक्षा शाखा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । यता विहानी कक्षा सञ्चालन गर्दै आएको रामपुर ४ स्थित सीताराम माध्यमिक विद्यालयले भने केही मात्रामा वर्षाद हुनथालेपछि सोमबार देखि दिउँसो मै कक्षा सञ्चालन थालेको छ ।
रामपुर आधारभूत विद्यालयका प्रधानाध्यापक विजय शर्माले गर्मीका कारण विद्यार्थीहरुमा समस्या देखिएपछि विद्यालयका अभिभावक तथा सरोकारवाहरु संग छलफल गरी नगरपालिकामा अनुमति लिएर विहानी कक्षा सञ्चालनमा रहेको बताउनुभयो । उहाँका अनुसार विहान पौने ६ बजे देखि विहान साढे १० बजे सम्म कक्षा सञ्चालन हुँदै आएको छ । दिउँसोको समयमा उखरमाउलो गर्मीमा सास्ती खेप्दै आएका विद्याथीहरु विहानी कक्षामा सक्रिय भएर अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले नगरकै सबैभन्दा होचो स्थानमा रहेको विद्यालयमा गर्मी अत्याधिक बढेपछि गर्मी विदा अघि सम्मको लागि विहानी कक्षा सञ्चालन गरिएको बताउनुभयो । कृष्णादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक डोलराज कंडेलले पनि गर्मीले विद्यार्थीहरुमा रिङ्गता लाग्ने समस्या देखिए पछि विहानी कक्षा बाट अध्यापन भैरहेको बताउनुभयो ।
सीताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले पानी पर्न थाले पछि सोमबार देखि दिउँसो मै कक्षा थालिएको जानकारी दिनुभयो । रामपुर नगरपालिकाले यस अघि गर्मी बढेपछि असार १ गते सम्म ५ दिनका लागि नगरका सबै विद्यालयमा विदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?