एसईईको नतिजा सार्वजनिक, उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्यो

काठमाडौं, माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले बिहीबार दिउँसो एसईई नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो । बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो। २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो। त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो।

संशोधनअनुसार यसपटक साविक कै प्रावधानअनुसार नतिजा सार्वजनिक गरिएको हो। न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईईदेखि मात्र कार्यान्वयनमा आउने छ ।
नतिजा अनुसार परीक्षामा २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि ४.० जीपीए ल्याएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो । ०.८ देखि १.२ सम्म जीपीए ल्याउने २ हजार दुई सय विद्यार्थी रहेका छन् । यस्तै, ३८ हजार ७७० विद्यार्थीले १.२ देखि १.६ सम्म जीपीए ल्याएका छन् । १.६ देखि २ सम्म जीपीए ल्याउने ८८ हजार ४,४७, २ देखि २.४ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या १ लाख दुई हजार २९३ जना रहेका छन् ।

यसैगरी २.४ देखि २.८ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ८९ हजार तीन सय ३१ जना रहेको छ । ७२ हजार तीन सय ६२ जनाले २.८ देखि ३.२ सम्म जीपीए ल्याए। ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ सम्म जीपीए प्राप्त गरेको परीक्षा बोर्डले जनाएको छ । यसपटक अंग्रेजी,गणित र विज्ञानमा स्तरीकृत प्रश्न सोधिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?