भू.पू. सैनिकमा विविध प्रतियोगिता सम्पन्न

पाल्पा, भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुल रामपुर–५ पाल्पामा विविध प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले २५ औं वर्ष पुरा गरेको अवसरमा मनाई रहेको रजत महोत्सव विशेष कार्यक्रम अन्तर्गत प्रतियोगिता सम्पन्न भएको हो ।

शनिबार रामपुर नगर स्तरीय शिक्षकहरु विचको मैत्रीपूर्ण भलिबल र महिला अभिभावकहरु विच मैत्रीपूर्ण कुर्चि दौड प्रतियोगिता सम्पन्न भएको हो । रामपुर नगरपालिका भित्रका आठ विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको भलिबल प्रतियोगितामा रामतुलसी नमुना माध्यमिक विद्यालयले उपाधी जित्न सफल भएको छ । फाईनल खेलमा आयोजक भूपू सैनिक राईजिङ्ग इङ्गलिश स्कुललाई २/१ सेटले पछि पादै रामतुलसी नमुना मावि विजेता बनेको हो । पहिलो सेट भूपू सैनिकले २५/११ अंक सहित हात पारेको थियो । दोस्रो र तेस्रो सेट २५/२३ र २५/१५ अंक सहित रामतुलसीले हात पारेको थियो । यस संगै भूपू सैनिक राईजिङ्ग उपविजेता बनेको छ ।

शनिबार भएको कार्यक्रम अन्तर्गत महिला अभिभावकहरु विच मैत्रीपूर्ण कुर्चि दौड प्रतियोगिता समेत भएको थियो । १ सय २५ जना अभिभावकको सहभागीता रहेको प्रतियोगितामा रामपुर ३ गण्डकी ढिकका शोभा खनाल प्रथम, रामपुर ४ सदावर्तका प्रिया नेपाली द्वितिय र रामपुर ६ का रेखा कुमाल तृतिय हुनु भएको विद्यालयका शिक्षक अजय अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै विहिबार बाट सुरु भएको रामपुर नगरपालिका मावि स्तरीय क्रिकेट प्रतियोगितामा गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटार विजयी भएको छ । शुक्रबार भएको फाईनल खेलमा गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटारले भूपू सैनिक राईजिङ्ग इङ्गलिश स्कुललाई ४४ रनले पराजित गर्दै उपाधी हात पारेको छ । १२ ओभरको खेलमा छस जितेर व्यटिङ्ग रोजेको गंगा माविले ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश स्कुल अन्तत १२ ओभर खेल्दै ५० रन मात्र ल्याउन सफल भयो । १० विद्यालयको सहभागीता रहेको प्रतियोगितामा आयोजक भूपू सैनिक राईजिङ्ग ईङ्गलिश स्कुल उपविजेतामा सिमित भएको छ ।

शुक्रबार नै रामपुर नगर स्तरीय माध्यमिक तहको हाजिरजवाफ प्रतियोगिता भएको थियो । नगर भित्रका १० माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा प्रथम रामतुलसी नमुना माध्यमिक विद्यालय, द्वितिय रामपुर आवासिय माध्यमिक विद्यालय र तृतिय आनन्द निकेटन विद्याश्रम भएको विद्यालयका प्रिन्सिपल गोपि सिग्देलले जानकारी दिनुभयो । प्रिन्सिपल गोपि सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि प्रसाद भट्टराईले गर्नु भएको थियो । रजत महोत्सवको अवसरमा अन्तर विद्यालय स्तरीय प्रतियोगिता संगै कक्षागत तथा अन्तरसदनात्मक खेलकुद तथा बौद्धिक प्रतियोगिता भैरहेको छ ।

आईतबार अभिभावक, विद्यार्थी तथा शिक्षक/कर्मचारीका लागि उत्प्रेरणात्मक तथा अभिमुदिकरण कार्यक्रम विहान ११ बजे देखि हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?