पोखरा देखि रामपुर आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाईते

पाल्पा, तनहुँको भिमाद नगरपालिका–३, मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै १० जना घाईते भएका छन् । पोखराबाट रामपुर पाल्पातर्फ आउँदै गरेको ग १ ज ६३५६ नं.को जिप बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको थियो ।

चालकसहित १२ जना यात्रु सवार जिप सडकदेखि करिब १५० मिटर मिटर तल खोलामा खसेको थियो । घाइते १२ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएका मध्ये जिपमा सवार बौदीकाली गाउँपालिका–२ नवलपुर बस्ने वर्ष ४२ को रुमबहादुर विक र सोही ठाउँका वर्ष ५५ का जेमलाल दरैको उपचारको क्रममा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घाईतेहरु मध्ये ३ जनाको अवस्था गम्भिर, ४ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

खाँणका अनुसार घाईते मध्ये स्याङ्जाको चापाकोट नगरपालिका–६ बस्ने वर्ष ३२ को रेनु थापा, वर्ष ६ को रनिसा थापा, शुक्लागण्डकी नगरपालिका–६, तनहुँ बस्ने वर्ष ४८ को सेतु कार्की, पाल्पाको निस्दी गाउँपालिका–२ बस्ने वर्ष २७ को पूजा सारू, भिमाद नगरपालिका–३ बस्ने वर्ष ६२ को दण्डपाणि रिजाल, घिरिङ गाउँपालिका–४ बस्ने वर्ष ५० को तिखे थापा हुनुहुन्छ ।

नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–२ बस्ने वर्ष ४० को हरि ओझा, पाल्पाको निस्दी गाउँपालिका– १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, स्याङ्जाको चापाकोट नगरपालिका–७ बस्ने वर्ष ४६ को दिनानाथ कँडेल र चालक पाल्पाको रामपुर नगरपालिका–७ बस्ने वर्ष ३१ को लक्ष्मण पंगेनीको जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भैरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?