रामतुलसी माविले ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

पुस १ ।
पाल्पा, रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर नगरपालिका–५ पाल्पाले ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्थापनाको ५७ औं वर्ष प्रवेशको अवसरमा सोमबार एक समारोहका विच वार्षिकउत्सव सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले रोजगारी खोज्ने नभै रोजगारी सृजना गर्ने शिक्षा वर्तमान समयको आवश्यक रहेको बताउनुभयो । उहाँले समय अनुसारको व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिनुको विकल्प नभएको बताउनुभयो । परिवर्तन आफुबाटै सुरुवात गर्नुपर्छ भन्ने ज्वलन्त उहाहरण रामतुलसी नमुना मावि बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पढेपछि उत्तीर्ण हुने मात्रै शिक्षा होईन, व्यावसायिक तथा व्यवहारिक बनाउने खालको शिक्षा आजको आवश्यकता हो ।’ सभापति श्रेष्ठले रामतुलसीले व्यवहारिक जनशक्ति उत्पादन गर्ने शिक्षा दिएको बताउनुभयो । पाटी, चौतारीमा संचालन भएको विद्यालयले अहिले पक्की भवनमा आधुनिक प्रविधी सहित शिक्षा दिएको देख्दा खुशी लागेको बताउनुभयो । आफुले ज्ञानआर्जन गरेको विद्यालय हेर्न र सिक्न लायकको नमुना विद्यालय बनेको भन्दै विद्यालयको शैक्षिक विकासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा विद्यालयका संस्थापक देवराज ढकाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, विद्यालयका पुर्व संचालक समिति सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, दरैठाटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, लक्ष्मीनारायण गुठी व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराम भट्टराई, विष्णुप्रसाद पौडेल, किर्तिनाथ श्रेष्ठ, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, विद्यालय व्यवस्थापन समितिको तर्फबाट दुर्गादेवि राना, शिक्षक अभिभावक संघका अध्यक्ष महेशकुमार पौडेल, विद्यालयमा अध्ययनरत विद्यार्थी सम्झना रायमाझी र कृष्ण दर्जि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वार्षिकउत्सवको अवसरमा पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, बिमल श्रेष्ठ, अक्षयकोषदातालाई सम्मान गरिएको छ । शिक्षक सम्झना घिमिरे, रमेश अधिकारी, विनिता भट्टराई, दुर्गादेवि शर्मा, राजन घिमिरे, प्रेमकुमारी थापा, पुष्पराज ढकाल, ऐश्वर्या राना, सन्तोष चौधरी, विष्णुमाया पौडेल र कर्मचारी निरज श्रेष्ठलाई उत्कृष्ट शिक्षक तथा कर्मचारीको रूपमा सम्मान गरिएको थियो । साथै वार्षिक उत्सवको अवसरमा रामपुर ५ का विकास पौडेलले आफ्ना स्वर्गीय बुबा उमाकान्त पौडेलको नाममा ३३ हजार ३३३ रुपियाँ राशीको उमाकान्त स्मृति अक्षयकोष स्थापना गर्नु भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष महेशकुमार पौडेलले माध्यमिक शिक्षा परीक्षा एईईमा नेपाली माध्यमबाट उत्कृष्ट अंक ल्याउने छात्रा मनिषा आलेलाई २ हजार, १ सय नगर, सम्मान पत्रले पुरस्कृत गर्नु भएको थियो ।

यस वर्ष विद्यालयमा स्थापना भएको रामनाथ स्मृति अक्षयकोष मार्फत सामाजिक व्यक्तित्व हिमाल मल्ललाई सम्मान प्रदान गरेको छ । कार्यक्रममा प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वर्तमान अवस्था र भावि योजना सहितकोे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा हाल मन्टेश्वरी देखि कक्षा १२ सम्म दुई हजार ६४९ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । विद्यालयमा ४१ जना सरकारी, ८४ जना निजि गरी १२५ जना शिक्षक, कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो । विद्यालयमा हाल एक सय २५ जना शिक्षक तथा कर्मचारी रहेको छ ।

प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका छन् । जसमा ४१ जना सरकारी, ८४ जना निजी तर्फको शिक्षक, कर्मचारी कार्यरत रहेको लम्सालले जानकारी दिनुभयो । विद्यालयमा स्थापित ३६ वटा अक्षयकोषको करिव ३२ लाख रकम रहेको छ । विद्यालयको १११ कक्षाकोठा सहितको भवन, ३ वटा स्कुल बस, अत्याधुनिक प्रविधीमैत्री कक्षाकोठा, कृषि तथा विज्ञान प्रयोगशाला, खानेपानी, खेलमैदान, बाल उद्यान, व्यवस्थित पुस्तकालय, कम्प्युटर प्रयोगशाला लगायतका सुबिधा रहेका छन् ।
कार्यक्रममा विद्यालयका लेखापाल हरिहर रेग्मीले ११ करोड ९ लाख ३४ हजार ७२४ रुपैयाँ ६३ पैसा बराबरको आयव्याय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरेको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई व्यवस्थापन समितिका सदस्य विशाल श्रेष्ठ अशोकले धन्यवाद ज्ञापन गर्नु भएको थियो । संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।

वार्षिक उत्सवको अवसरमा विद्यार्थीका सांस्कृतिक प्रतिभा प्रस्तुत गरिएको थियो । साथै आज कक्षा ११ र १२ का विद्यार्थीहरुको खाना महोत्सवको अवसरमा विभिन्न परिकार तयार गरी विक्री वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?