पाल्पाको सामाजिक क्षेत्रमा सक्रिय जापानिज समाजसेवी ओके बाजेको चौरासी पूजा गंगा माविमा हुने

पाल्पा, विगत ३० बर्ष देखि पाल्पाको सामाजिक क्षेत्रमा सक्रिय जापानिज नागरिक समाजसेवी काजुमासा काकिमी (ओकेवाजे) को चौरासी पूजा गरिने भएको छ । जापान बाट आएर लामो समय देखि पाल्पाको विकास निर्माण संगै शिक्षा, स्वास्थ्य, गरिबी निवारण लगाएतका सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आउनु भएका ओकेबाजे ८४ बर्ष पुगेको अवसरमा उहाँको सम्मान स्वरुप गंगा माध्यामिक विद्यालय रामपुरमा पूजा गर्न लागिएको हो ।

रामपुर नगरपालिका ८ स्थित गंगा माध्यमिक विद्यालयमा हुने पूजाको तयारीका लागि यसक्षेत्रका माध्यामिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, पत्रकार एवं सरोकारवालाहरुको भेला भएको थियो । भेलाले आउदो असोज २३ गते अर्थात अक्टोबर ९ तारिखका दिन पुजा गर्ने निर्णय गरेको छ । भेलामा गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विगत लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान गर्ने ओके बाजेको सम्मानकै लागि गंगा मावीमा ८४ पुजा गर्न लागेको बताउनुभयो । उहाँले जीवनको लामो समय नै आफ्नो देश जापान छोडेर नेपालमा रही पाल्पामा उहाँकै पहलमा धेरै विकास भएको बताउनुभयो ।

भेलामा जापानिज नागरिक काजुमासा काकिमी ओके बाजेले उमेरले ८४ बर्ष पुगेपछि नेपालमा धेरै नागरिक थुपुक्क बस्ने गरेको देखेको उल्लेख गर्दै त्यसरी बस्दा पनि गर्न सक्ने कामहरु गर्नुपर्ने बताउनुभयो । उहाँले जापानिज नागरिकमा भने अरुलाई खुसी बनाउन धेरै सहयोग गर्ने सोच हुने गरेको उल्लेख गर्नुभयो । भेलाले गंगा मावीका प्रधानाध्यापक देवराज देवकोटा अध्यक्ष तथा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, तानसेन तथा माथागढी गाउँपािलकाका माध्यामिक विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्ष ,पत्रकार तथा संचारसंस्था सदस्य रहेको मुल आयोजक समिति गठन गरेको छ । भेलाले चौरासी पुजा संचालनका लागि सवै विद्यालय, तथा स्थानिय संघसंस्था बाट सहभागिता बापत न्युनतम ५ हजार रुपैंयाका दरले सहयोग संकलन गर्ने, प्राप्त रकम पूजा अवधिभर नजिकको बैकमा खाता खोलेर एकद्वार प्रणाली मार्फत आर्थिक कारोबार गर्ने, पुजाको प्रचार प्रसार गर्ने लगायतका निर्णय गरेको छ ।

भेलाले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका संयोजक, तानसेन नगरपालिका, रामपुर नगरपालिका, सवै गाउँपालिकाका प्रमुख, लुम्बिनी प्रदेशसभा सदस्य रहेको सल्लाहकार समिति चयन गरेको छ । भेलामा नेपाल संस्कृत विश्वविद्यालयका सहायक प्रध्यापक डाक्टर खेमराज खनालले धार्मिक विधिबाट गरिने चौरासी पुजाबारे जानकारी गराउनुभएको थियो ।

करिब ६ लाख लागतमा सम्पन्न हुने पूजाका निम्ति सचिवालय स्थापना गरी व्यवस्थापनको काम शुरु गरिने आयोजकले जनाएको छ । भेलामा गंगा माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरनारायण अर्यालले विद्यालयमा गरिने जापानिज समाजसेवी ओकेबाजेको सम्मानका निम्ती गरिने पुजालाई व्यवस्थित बनाउन सवैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । भेलाले पुजा सम्पन्न गर्न ४५ सदस्यीय मुल आयोजक समिती तथा २४ सदस्यीय सचिवालय समिति निर्माण गरेको छ । भेलाको सञ्चालन रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनीले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?