रामपुरमा उत्कृष्ट बालविकास सहयोगी, कर्मचारी तथा कार्यालय सहयोगीहरु सम्मानित

पाल्पा, रामपुर नगरपालिका शिक्षा शाखाले नगर भित्रका सर्वजनिक विद्यालयका उत्कृष्ट बालविकास सहयोगी, कर्मचारी तथा कार्यालय सहयोगीहरुलाई सम्मान गरेको छ । ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस कार्यक्रमको अवसरमा नगर भित्रका विद्यालयहरु बाट छनौट गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा बालविकास सहयोगी तर्फ माध्यमिक विद्यालयहरुमा जनशान्ति माध्यमिक विद्यालय रामपुर ९ का देवीमायाँ हितान, आधारभूत विद्यालयहरु बाट रामपुर आधारभूत विद्यालय रामपुर ५ का रिता भट्टराई, उत्कृष्ट कर्मचारी तर्फ सरस्वती माध्यमिक विद्यालय रामपुर २ का सुरजकुमार थापा र कार्यालय सहयोगी तर्फ आधारभूत माध्यमिक विद्यालयका लक्ष्मी श्रेष्ठलाई सम्मान गरेको हो । उत्कृष्ट हुन सफल व्यक्तिहरुलाई रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले खादा आढाएर, सम्मान पत्र र नगद सहित सम्मान गर्नु भएको थियो ।

दिवसको अवसरमा रामपुर नगरपालिका शिक्षा शाखाको आयोजना र रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाको समन्वय अन्तर विद्यालय स्तरिय प्रतियोगिताहरु भएको थियो । माध्यमिक तह स्तरिय हाजिरजवाफ प्रतियोगितामा आनन्द निकेटन विद्याश्रम रामपुर ७ कृष्णबारी प्रथम, गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटार द्वितिय र जनविकास माध्यमिक विद्यालय रामपुर ३ रजघराको समुह तृतिय भएको छ । त्यस्तै आधारभूत तह स्तरिय श्रूति लेखन प्रतियोगितामा गंगा माध्यमिक विद्यालयका छात्रा आकाश देवकोटा प्रथम, भूपू सैनिक राईजिङ्ग इङ्गलिस सेकेण्डरी स्कुलका छात्र प्रहसन केसी द्वितिय र दरैठाँटी माविका छात्रा निकिता ढकाल तृतिय भएको रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । त्यस्तै प्राथमिक तहको श्रुति लेखन प्रतियोगितामा गंगा माध्यमिक विद्यालयका छात्रा रोजिना पंगेनी प्रथम, रजघरा बोर्डिङ्ग स्कुलका छात्रा कृष्टिना कंडेल द्वितिय र भूपू सैनिक राईजिङ्ग इङ्गलिस सेकेण्डरी स्कुलका छात्रा सृष्टि राना तृतिय भएका छन् । विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र, नगद प्रदान गरिएको थियो ।

पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले शिक्षण पेशामा आवद्ध शिक्षक तथा कर्मचारीहरुलाई थप उत्प्रेरणा जगाउन सम्मान कार्यक्रम सुरु गरिएको बताउनुभयो । यस वर्ष बालविकास सहयोगी, कर्मचारी र कार्यालय सहयोगीलाई सम्मान गरि सुरु गरिए पनि अर्को वर्ष बाट विभिन्न विधामा सम्मान गरिने जानकारी दिनुभयो । शिक्षा नै विकासको आधार भएको बताउँदै उहाँले नगर भित्रको शैक्षिक संस्थामा उपयुक्त वातावरण तयार पार्नका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेले अतिरिक्त क्रियाकलाप संगै विद्यार्थीहरुलाई थप सक्रिय बनाएर अघि बढ्न अनुरोध गर्नुभयो । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले प्रतिस्पर्धाको समय भएकाले देश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थीहरु तयार गर्नका लागि विद्यालयहरुलाई सक्रिय हुन आग्रह गर्दै नगरपालिका बाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ पाल्पाका जिल्ला अध्यक्ष टंकनाथ पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधि डोलराज पाण्डे, जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति खनाल, सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी र रजघरा इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गंगा थापाले आफ्नो भनाई राख्नु भएको थियो । रामपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य सिमा थापाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षा समिति सदस्य सावित्रा गौतमको स्वागत र रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालको सञ्चालनमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?