पाल्पा, ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा रामपुर नगरपालिकामा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको हो ।
नगरपालिका भित्रका १२ वटा विद्यालयको सहभागीता रहेको प्रतियोगितामा रामतुलसी माध्यमिक विद्यालयका छात्रा रविना ढकाल प्रथम, दरैठाँटी माध्यमिक विद्यालयका छात्रा सविना अधिकारी, तृतिय आनन्द निकेतन विद्याश्रमका छात्रा सनिसा भट्टराई र सान्त्वना रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका छात्रा सुरक्षा गौतम भएको रामपुर नगरपालिका शिक्षा शाखा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई क्रमश नगद ८ हजार, ५ हजार, ३ हजार र १ हजार ५ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवं नगर प्रवक्ता कपिल बहादुर खाँणले बालबालिकाको अधिकार प्रत्याभूत गर्न नगरपालिकाले आवश्यक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बालमैत्री नगरपालिका घोषणाको लागि नगरले बजेट विनियोजन गरी आवश्यक कार्य अघि बढाएको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बालबालिकाको अधिकार रक्षाको लागि सरकारले अवलम्वन गरेको नीति, विभिन्न महासन्धीहरुको पालना गर्दै स्थानीय सकार अघि बढेको बताउँदै उनीहरु भविष्यको लागि काम गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम कृषि शाखा अधिकृत रामहरी पाण्डेको स्वागत र रामपुर नगरपालिका रोजगार संयोजक निरज पोखरेलको सञ्चालनमा भएको हो ।
यस्तै बाल दिवसको अवसरमा कालिका माध्यमिक विद्यालय रामपुर ४ पाल्पाले बेझाँड बजारमा सचेतना र्याली निकालेको थियो । साथै विद्यालयका विद्यार्थीहरुले नगरपालिकाको सभाहलमा भएको बालदिवस विशेष कार्यक्रममा बाल अधिकार सम्बन्धी नाटक पनि प्रस्तुत गरेका थिए ।