वीरेन्द्र प्रावि रामपुर–८, खालीवनले स्वर्ण महोत्सव मनायो

पाल्पा, वीरेन्द्र प्राथमिक विद्यालय रामपुर नगरपालिका–८, खालीवन पाल्पाले स्वर्ण महोत्सव मनाएको छ । स्थापनाको ५० औं वर्ष पुरा भएको अवसरमा विहिबार स्वर्ण महोत्सव मनाएको हो ।

गत पौष नौ गते देखि विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउन सुरु गरेको विद्यालयले विशेष समारोहका साथ स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको उट्घाटन संगै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले स्वर्ण स्मारिका विमोचन तथा स्वर्ण स्तम्भ अनावरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै थापाले समाज रुपान्तरणको लागि आवश्यक ज्ञान र विचारको विकासका लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो । नगरको विकासको लागि गुणस्तरिय शिक्षालाई अघि बढाउन सरकारी तथा निजी विद्यालय संग सहकार्य गर्दै अघि बढेको बताउनुभयो । उहाँले शिक्षाको स्तर वृद्धिको लागि सबैको साथ र सहयोगको खाँचो रहने औल्याउँदै शिक्षा क्षेत्रको समस्या समाधान गर्नको लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

समाजसेवि एवं जिल्ला शिक्षा समन्वय समितिका सदस्य देवराज ढकालले तत्कालीन समयमा स्थापना भएका ग्रामीण क्षेत्रका विद्यालयमा बसाईसराईको कारण विद्यार्थी संख्या चुनौतिको रुपमा देखिए पनि स्तरिय शिक्षामा ध्यान दिन सकेमा सम्भावना भने कायमै रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले विद्यालयले स्थापना काल देखि शिक्षाको ज्योति छर्दै समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले भौतिक पुर्वाधार संगै अब गुणस्तरिय शिक्षाको लागि लाग्न अनुरोध गर्नुभयो । रामपुर ८ का वडा अध्यक्ष दिनेश आचार्यले विद्यालय वडाको गहनाको रुपमा रहेको बताउनुभयो ।

जापानिज नागरिक समाजसेवि काजुमासा काकिमी ओके बाजेले बोल्दै बालबालिका मुलुक विकासको आधार भएको बताउनुभयो । बालबालिकाको लागि शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान सिंजाली, विद्यालयका पूर्व प्रधानाध्यापक दिपकमणी अर्याल, भानुभक्त माविका प्रधानाध्यापक तथा अक्षयकोष दाता आनन्द बहादुर सारु, गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटा, अक्षयकोष दाता चन्द्र बहादुर थापाले शुभकामना व्यक्त गर्दै बालबालिकाको भविष्यको लागि गुणस्तरिय शिक्षामा ध्यान दिनु पर्ने बताएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लुक बहादुर राम्जालीले विद्यालयको वर्तमान अवस्था र भावि रणनितीको बारेमा प्रकाश पार्दै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर नाम्जालीको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका शिक्षक छनिता राम्जालीको स्वागत र शिक्षक बसन्ती श्रेष्ठको सञ्चालनमा भएको हो । कार्यक्रममा मौलिक संस्कृतिमा आधारित कौरा, झ्याउरे, मारुनी लगाएका झाँकि प्रदर्शन सहित सांस्कृतिक कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?