पाल्पा, ६६ औं राष्ट्रिय सहकारी दिवस पाल्पाको रामपुरमा विशेष कार्यक्रमका साथ मनाईएको छ । रामपुर नगरपालिका भित्र रहेको २३ वटा सहकारीहरुको संयुक्त आयोजना, जिल्ला सहकारी संघको समन्वय र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ दिवस मनाईएको हो ।
दिवस विशेष कार्यक्रमको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बजार क्षेत्रका केही सहकारीका गतिविधिले सहकारी प्रति प्रश्नहरु उब्जाए पनि गाउँ क्षेत्रमा सहकारीले स्थानीयको दैनिक जीवनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रको आर्थिक अवस्था सुधार संगै वित्तिय जागरणका लागि सहकारी कोसेढुङ्गा सावित भएको उल्लेख गर्दै नगरपालिका सहकारीहरु संग सहकार्य गरेर अघि बढ्न सदा तप्पर रहेको बताउनुभयो । उहाँले सहकारी मैत्री वातावरण तयार गरी नगरबासीको उत्थान र समृद्धिका लागि आवश्यक निती तथा नियम सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सहकारीको महत्व, सहकारीको मर्म र सञ्चालनमा ध्यान दिनु पर्ने विषयहरुमा अभिमुखिकरण गर्दै सहकारी शब्दलाई सम्मान गरेर पूर्र्ण विश्वासका साथ अघि बढ्न सके मात्र लिएको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । संविधानले सहकारीको नियमन गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरेको बताउँदै स्थानिय सरकार संग सहकार्य गरेर सहकारी सञ्चालनका लागि आवश्यक नियम कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले तीन खम्बे अर्थ नीति भित्रको सहकारीलाई अघि बढाउन स्थनीय सरकार र याहाँका सहकारीहरु विच मित्रवत ढंगबाट अघि बढ्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले सुशासन कायम गरी कानुनको परिधिभित्र रहेर अघि बढ्न सके जोखिम न्यूनिकरण गर्न सकिने बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले सहकारीहरुले आफ्नो प्रकृति र नाम अनुसारको कार्य गर्दै परदर्शीता कायम गरी अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले नगरपालिकाले सहकारी संग सम्बन्धीत कार्यको लागि कर्मचारी नियुक्त गरी अघि बढेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले सहकारी संगठित शक्ति भएको भएको बताउँदै सहकारीको माध्यम बाट जनतालाई स्वावलम्बी बनाउन महत्वपूर्ण कार्यहरुगर्न सकिने बताउनुभयो । उहाँल स्तरीय सेवामा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुरका अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य कमलराज भट्टराई, नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुरका राम प्रसाद गैरे, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, जिल्ला सहकारी संघका सदस्य कृष्ण कुमार अर्याल, इश्वरी खनाल, सुर्योदय कृषि सहकारीका अध्यक्ष बुद्धिराज गौतम, रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बोल्दै समान उद्देश्य भएका नगर भित्रका सहकारीहरु मर्ज गरेर अघि बढ्न सके सकारात्म सन्देश दिनुका साथै आर्थिक तथा सामाजिक कार्य लाग्न सहज हुने बताएका थिए ।
न्यू होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रम अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता, उज्यालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विष्णु माया ढकालको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा हातेमालो बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु सारुले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर बचत तथा ऋण सहकारी संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नु भएको हो । कार्यक्रम पूर्व रामपुर नगरपालिका भित्र रहेका २३ वटा सहकारीले बेझाँड नहर अफिस बाट प्ले कार्ड सहित र्याली निकालेको थियोे । र्याली हुलाक टोल सहकारीपथ, स्कुलरोड हुँदै सभाहलमा प्रवेश गरेको थियो ।