पाल्पा, गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले डोको बोकर पानी खानुपर्ने अवस्थाको अन्त्यका लागि प्रदेश सरकार प्रतिवद्ध भएर लागेको बताउनुभएको छ । खानेपानी र सिंचाई आवश्यकता परिपुर्तिका लागि लागि परेको बताउनुभएको हो ।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार स्थित महामृतुन्जय धाममा विहिबार देखि सुरु भएको ५ दिने पुरुषोत्तम ज्ञान महायज्ञको उट्घाटन गर्दै उहाँले भन्नुभयो, “जहाँ सिंचाई पुगेको छैन । जहाँ डोको बोकर पानी खानु पर्ने अवस्था छ । यस्ता अवस्था निर्मुल पार्नको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध भएर लागेको छ ।” गण्डकी प्रदेशले लिफ्टीङ्ग खानेपानी योजनाको लागि यस वर्ष देखि ३० लाख भन्दा बढी बजेट हाल्ने प्रयास गरेको जानकारी दिनुभयो । निर्माणाधिन अवस्थामा रहेका लिफ्टीङ्ग सिंचाई योजनाहरु जति सक्छ छिटो सम्पन्न गर्ने पहल गर्दै आएको स्पष्ट पार्नुभयो ।
साथै उहाँले सिंचाई र खानेपानीको समस्या भएका स्थानको पहिचान गरी योजना ल्याउन आग्रह गर्नुभयो । “खानेपानी जीवनको लागि अपरिहार्य हो । खानेपानीका समस्याहरु भएमा खबर गर्नुहोला ।” उहाँले भन्नुभयो । जनताले लिफ्टीङ्ग खानेपानीको विद्युत महशुल तिर्न नसकेको गुनासो आएकोमा प्रदेश सरकार गठन भए लगतै लिफ्टीङ्ग खानेपानी र लिफ्टीङ्ग सिंचाईको विद्युत महशुल फ्रि गर्ने निर्णय भएको बताउनुभयो । पुरुषोत्तम महिना साउनको आफ्नै पहिचान रहेको बताउनुभयो । महामृतुन्जय धाम कालीगण्डकी उत्तरबाहिनिको धार्मिक र सांस्कृतिक महत्व रहेको गुरुयोजना अनुसार याहाँको विकासको लागि प्रदेश सरकारले पनि पहल गर्ने बताउनुभयो ।
ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पवित्र स्थलको रुपमा रहेको कालीनदीको आफ्नै महत्व रहेको बताउनुभयो । उहाँले कालीनदीको तट अवस्थित धामको विकासको लागि आफ्नो तर्फ बाट सहयोग गर्ने बताउनुभयो । घिरिङ गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले धामलाई धार्मिक पर्यटन संग जोड्न पालिकाले पनि पहल गरिरहेको बताउनुभयो । कालीगण्डकी तिर्थ क्षेत्र नेपालका अध्यक्ष नविन पाण्डेले कालीगण्डकी सभ्यताको संरक्षण संगै याहाँको महत्वलाई थप उजागर गर्न धाममा विश्व कै अग्लो १ सय २८ फिटको शिवलिङ्ग निर्माणको लागि प्रयास भैरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा महायक्ष व्यवस्थापन समितिका सदस्य दान बहादुर शाही र निस्दी गाउँपालिका १ का निवर्तमान पूर्ण बहादुर खाँडले यस क्षेत्रको पहिचानको लागि यज्ञ सञ्चालन गरिएको बताउनुभयो । महामृतुन्जय धामलाई धर्म र संस्कृति संग जोड्दै अघि बढाउन गत असारमा १ सय ८ पिपल, १ सय ८ बर र १ सय ८ स्वामीको विरुवा लगाईएको थियो ।
महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष होमनाथ सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम घिरिङ १ का वडा अध्यक्ष रविचन्द्र घोरासिनीको स्वागत र सचिव खिमकर्ण ढकालको सञ्चालनमा भएको हो । महामृतुन्जय धामको प्रचार प्रसार संगै यसको विकासका लागि आयोजना गरिएको महायज्ञमा पण्डित शिरोमणि दिपक सापकोटाको मुखार विन्द बाट संगितमय शैलीमा कथा प्रवचन भैरहेको छ । महायज्ञ आगामी साउन १५ गते सम्म हुनेछ ।