लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै

पाल्पा , रामपुर नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । अभियान अन्तर्गत नगरपालिकाले विभिन्न वडामा सचेतानमूलक कार्यक्रम र विद्यार्थी लक्षित कार्यक्रम गरेको छ ।

विहिबार रामपुर नगरपालिका वडा नं.१ पाल्पामा एकल महिला तथा दलित महिलाहरुका लागि लैंगिक हिंसा तथा कानुनी अधिकार सम्बन्धि सचेतना कार्यक्रम र वडा नं. ४ मा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. १ मा भएको कार्यक्रममा महिलाहरुलाई समाजमा हुने विभिन्न हिंसा , महिला अधिकार र कानुनी प्रक्रियाको बारेमा प्रशिक्षण सहितको सचेतना कार्यक्रम गरेको हो । हिंसाका प्रकार , त्यसको कानुनी उपचार , समाजमा बढि हुने हिंसालाई कसरी अन्त्य गर्न सकिन्छ लगाएतका विषयमा महिलाहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जानेर वा नजानेर घर घरमा हिंसा भई रहेकोले त्यसको अन्त्यका लागि गाँउ गाँउबाटै लाग्नु पर्ने बताउनुभयो । विभिन्न डरका कारण समाजमा हुने हिंसालाई लुकाएर राखेको अवस्था रहेकाले त्यसको विरुद्ध आवाज उठान आग्रह गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले हिंसा गर्नु मात्रै हिंसा नभई सहनु पनि हिंसा भएकाले यसको अन्त्य गर्नु पर्ने बताउनुभयो । साथै कुनै डर त्रास नमानी आफुलाई गरेको हिंसाको प्रतिकार गर्न आवश्यक रहेको भन्दै महिलाहरुको न्यायको निम्ती आफु संधै प्रतिबद्ध भएर लागेको बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले समाजमा विभेद संगै हिंसा हुने भएकाले त्यसको अन्त्य गरि विभेद र हिंसा रहित समाज निर्माण गर्नु पर्ने बताउनुभयो । यस्तै सहभागि महिलाहरुको तर्फबाट देवि थापाले बोल्दै नगरपालिकाले हिंसा सम्बन्धि सचेतना र कानुनी प्रक्रियाको बारेमा जानकारी गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यपालिका सदस्य देवका पोखरेलको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा नं. १ का वडा सदस्य जिवनमाया नेपालीले गर्नु भएको थियो । रामपुर नगरपालिका वडा नं. १ को कार्यालय भवन कार्यक्रमको सहजिकरण रामपुर नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नु भएको थियो ।

यस्तै लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत नगरपालिकाले विद्यालयमा विद्यार्थी सचेतना कार्यक्रम गरेको छ । जस अन्तर्गत विहिबार सिताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्त पाल्पामा कार्यक्रम सम्पन्न गरेको छ ।


विद्यालयमा अध्ययनरत कक्षा ८ ,९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यालय चेतनाको मेरुदण्ड भएकाले समाजलाई कस्तो बनाउने भन्ने कुरा विद्यालयमा दिईने शिक्षा र विद्यार्थीमा भर पर्ने बताउनुभयो । समाजमा हुने हिंसा र विकृतिको अन्त्यका लागि विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । मनिसमा लोभ लालच , अज्ञानता र चेतनाको अभावका कारण समाजमा हरेक किसिमका हिंसा व्याप्त रहेको भन्दै त्यसको अन्त्यका लागि विद्यार्थीहरु सचेत र सजग हुन आग्रह गर्नुभयो । साथै विद्यालय शिक्षालाई प्रभावकारी बनाउनका लागि अनुशासित भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नगरपालिकाले हरेक विद्यालयको आवश्यकता अनुसार सहयोग गर्ने र सबै विद्यालयलाई समान तरिकाले हेर्ने बताउनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष राम बहादुर रानाले विद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिंदै वडाबाट प्रवहा हुने सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई अनुशासन , अध्ययन प्रक्रिया लगाएतका विषयमा जानकारी गराईएको थियो । सिताराम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयका प्रधानाध्यापक हरि अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?