पाल्पा, भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुल रामपुर पाल्पाले भव्यताका साथ रजत महोत्सव मनाएको छ । स्थापनाको २५ औं वर्ष पुरा भएको अवसरमा छ दिवसिय कार्यक्रम सहित मंगलबार विशेष समारोहका साथ रजत जयन्ती मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको रजत महोत्सव समारोह भारतीय राजदुताबास भूतपूर्व सैनिक कल्याणकारी शाखाका सहायक सैनिक सहचरी मेजर नविन जानुको प्रमुख आतिथ्यतामा भएको थियो । रजतजयन्तीको अवसर निर्माण गरिएको रजत स्तम्भ अनावरण, भूपू सैनिक रजत स्मारिका विनोचन संगै समारोहको उट्घाटन गर्दै प्रमुख अतिथी जानुले नेपालको विकासमा भारतले सहयोग गरिरहेको र आगामी दिनमा पनि साथ र सहयोग रहने बताउनुभयो । उहाँले सुरुवाती समयमा चुनौतीका विच पनि सञ्चालन भएको विद्यालयले २५ वर्षको समयमा महत्वपूर्ण उपलब्धी हात पारेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर क्षेत्रको शिक्षाको विकासमा निजी क्षेत्र बाट सञ्चालित शिक्षण संस्थाले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले भूत पूर्व सैनिकहरुले अवकास पश्चात आफ्नो कर्मभूमिमा शिक्षाको विकासको लागि दिएको योगदानको प्रशंसा गर्नुभयो । लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले शिक्षालाई श्रम र संकार संग जोड्न नसकिएको हो कि भन्ने भान पछिल्लो समय खड्किएको बताउनुभयो । दक्ष जनशक्ति रोजगारी सृजना हुन नसक्दा पलायन हुने क्रम बढ्दै गएको बताउँदै संस्कार र सीप सहितको शिक्षा अबको आवश्यकता भएकाले यस प्रति गम्भीर रुपमा चिन्तन गर्ने समय आएको बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रवक्ता एवं विद्यालयका पूर्व प्रिन्सिपल कपिल बहादुर खाँणले समय अनुसारको शिक्षा प्रदानमा जुट्ने समय आएको बताउनुभयो । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल रामपुरलाई शैक्षिक हवको रुपमा विकास गर्न विद्यालयले महत्वपूर्ण योगदान दिएको बताउनुभयो। कार्यक्रममा रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, प्याव्सन लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्द प्रसाद पौडेल, प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, विद्यालयका पूर्व प्रिन्सिपल ध्रुव पोखरेल, प्याव्सन केन्द्रिय कार्यसमितिका निवर्तमान सह–कोषाध्यक्ष मीन प्रसाद बञ्जाडे र अभिभावक पुरुषोत्तम केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक अनेरी क्याप्टेन रोमन बहादुर रानाले भूत पूर्व सैनिकहरुको पहलमा शिक्षाको ज्योति छर्नको लागि विद्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले विद्यालयको विगतको इतिहास र संघर्षको बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयका प्रिन्सिपल गोपि सिग्देलले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक, पूर्व प्रिन्सिपल, शिक्षक तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अवसरमा कक्षा नौ मा अध्ययनरत विद्यार्थी सक्षम बस्टाकोटीले तयार गर्नुभएको रोबट प्रदर्शन संगै अन्य विद्यार्थीहरुले निर्माण गरेको सामाग्री प्रदर्शन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा समेत प्रस्तुत गरिएको थियो । रजत महोत्सव समारोह पूर्व र्याली सहित बेझाँड बजार परिक्रमा गरिएको थियो । विद्यालयका भाईस प्रिन्सिपल कमल शर्माको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि प्रसाद भट्टराई र राधिका क्षेत्रीले गर्नु भएको हो ।