पाल्पा, शारदा आधारभूत विद्यालय पूर्वखोला १ सिलुवा पोखरडाँडा पाल्पाले स्थापनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाएको छ । विभिन्न पाँच दिवसिय कार्यक्रमको आयोजना गरि मनाएको स्वर्ण महोत्सवको सोमबार भव्यताका साथ समापन गरिएको छ ।
स्वर्ण महोत्सवको स्तम्भ अनावरण गर्दै पूर्वखोला गाँउपालिकाका अध्यक्ष नुन बहादुर थापाले शिक्षालाई समय सुहाउँदो र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पालिकाको शैक्षिक उन्नयन र विकासका लागि स्थानिय सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । साथै थापाले गुणस्तरिय र प्रभावकारी शिक्षण संगै संस्कारयुक्त शिक्षाका लागि सवैलाई एक भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले पालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसार हरेक विद्यालयको विकासका लागि शिक्षक विद्यार्थी एक भएर लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्वउपसचिव दिपेन्द्र ढकाल, दिवाकर अर्याल,पूर्व लेखा अधिकृत लिला अर्याल, जनमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम बहादुर दिशा लगाएतले बोल्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार संगै समग्र विकासका लागि शिक्षक विद्यार्थी र अभिभावक समन्वय गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिमाया हिस्कीले ४४ लाख ९४ हजार ८ सय ८१ रुपैयाँ बराबरको आयव्याय सहितको वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । स्वर्ण महोत्सव समापन कार्यक्रमका अवसरमा विद्यालयका संस्थापक,जग्गादाता,चन्दादाता,सहयोगी,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,पूर्व प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बयम्बुको अध्यक्षतामा भएको कार्यक्रम पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।विद्यालयका सहायक प्रधानाध्यापक सीता रानाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी एवं रवि किरण माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सारु र विद्यालयका शिक्षक यम बहादुर नेपालीले गर्नु भएको थियो । समापनका अवसरमा विद्यार्थीहरुले साँगितिक प्रस्तुति संगै विविध साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । स्वर्ण महोत्सवका अवसरमा विद्यालयले आन्तरिक तथा वडास्तरीय हाजिरिजवाफ,भलिबल,वक्तृत्वकला लगाएतका विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ भने विभिन्न टोलमा रहेका झ्याउरे,कौरा,पञ्चेबाजा जस्ता लोक सँस्कृतिको प्रदर्शन गरिएको थियो ।