पृथ्वी जयन्तीको अवसरमा सालिकमा मल्यार्पण

पुस २७ ।
पाल्पा, ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रामपुरमा पनि मनाईएको छ । रामपुर नगरपालिका–६, विजयपुर रहेको पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पण गरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा रामपुरमा पृथ्वीनारायण शाहले दिनु भएको योगदानको सम्मान गर्दै सालिकमा माल्यार्पण सहित विविध कार्यक्रम भएको थियो । ठकुरी दर्शन समाज रामपुर नगर समितिको अगुवाईमा भएको कार्यक्रममा दि फेमस महिन्द्र दल गण तानसेन बाट आएको नेपाली सेनाको एक टुकडीले सलामी अर्पण समेत गरेको थियो । त्यस अघि भेषभूषमा सजिएका ठकुरी समुदायका विभिन्न समूह र नेपाली सेनाले र्याली सहित विजयपुर बजार, बुद्ध पार्क परिक्रमा गरेको थियो ।

साथै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पदाधिकारी, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियन्ताहरुको पनि संयुक्त रुपमा सहभागीता जनाएको थियो । नेपाली सेनाको सलामी अर्पण पश्चात सालिकमा माल्यार्पण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भुमिका कै कारण नेपाल हाल सम्म सार्वभौम राष्ट्रको रुपमा रहेको बताउनुभयो । छरिएर रहेका भुभागलाई एकताको सुत्रमा बाँधेर नेपाललाई चार वर्ष ३६ जातको साझा फूलबारीको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

शाहले दिनुभएको दिव्य उपदेश हाल सम्म पनि जीवन्त रहेको बताउनुभयो । शाहले नेपालको भुगोल संगै समुदायलाई एकतावद्ध गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले राष्ट्रिय एकता दिवस सबै जातजाति र भाषा संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण दिन भएको बताउनुभयो । ठकुरी दर्शन समाज रामपुरका अध्यक्ष केशर बहादुर खाँणले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भुमिका तथा इतिहास रक्षाका लागि कार्यक्रम गर्दै आएको बताउनुभयो ।
ठकुरी दर्शन समाज रामपुरका अध्यक्ष केशर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता र ठकुरी दर्शन समाजका सचिव नरेश मल्लको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?