आज माघे संक्रान्ति र माघी पर्व मनाइँदै

माघ १ ।
पाल्पा, माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशी बाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी, बारा आदि खाने चलन छ । माघे संक्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आज त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ ।

थारु,मगर र छन्त्याल समुदायले भने नयाँ वर्षका रूपमा पर्व मनाउने गर्छन्  । मगर समुदायले माघेसंक्रान्ति र थारु समुदायले माघी पर्वको रुपमा मनाउँदैछ । यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गरिएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।

तराईमा आजको दिनलाई ‘तिला सकराइत’ भनिन्छ । ।माघे संक्रान्तिलाई पश्चिम तराईका दाङ, बाँके, बर्दिया, लाली लगायतका जिल्लामा माघीको रुपमा मनाइदैछ ।बिगतका बर्षमा पनि लुम्बिनी प्रदेशले माघीको अबसरमा माघे सक्रान्तिको भोलिपल्ट समेत बिदा दिदै आएको छ ।प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?