माघ ६ ।
पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपाली पुस “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई २०८१ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
विभागीय आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पाले पुस महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको हो । आइतबार एक कार्यक्रमका विच प्रहरी निरीक्षक नेपालीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
गत पुष २५ गते राती रम्भा गाउँपालिका १ भवरमा केही मानिसहरुले सडक आवजावत गर्ने सवारी साधनलाई रोकी कानुन विपरितका कार्य गर्दैछन भन्ने सुचनाको आधारमा तत्काल घटना स्थलमा पुगी दाउरा लोड भएको ट्रक रोकी राखेको घटनामा संलग्न ४ जना मानिसहरुलाई नियन्त्रणमा लिएको, कार्तिक १४ गते जिल्ला पाल्पा रम्भा गाउँपालिका स्थित रम्भा रिसोर्टमा जुवा खेली रहेको अवस्थामा मानिसहरु पक्राउ गरेको, कार्तिक ११ गते जिल्ला पाल्पा रामपुर ४ काँसघारी स्थित बस्ने राम बहादुर थापाको घर कोठाबाट सुनको गरगहना तथा पार्किङ गरी राखेको भ्यान जिपबाट डेग, एलइडी मोनिटर चोरी भएकोमा उक्त चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १० वटा कार्यक्रम सञ्चालन गरेको तथा नियम विपरीत सवारी चलाउने ८७ जना बाट ७६ हजार राजस्व संकलन गरेको र दुईजना फरार प्रतिवादी पक्राउ गरि उत्कृष्ट कार्य गरेको भन्दै उहाँको कार्य सम्पादनको मूल्याङ्कन गर्दै पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी निरीक्षक नेपाली कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत रहदा पनि तालिमको आन्तरीक तथा बाह्य प्रशिक्षण कार्यमा उत्कृष्ट कार्य गरेको भन्दै २०८० चैतमा उत्कृष्ट प्रहरी घोषित हुनुभएको थियो ।