रामपुरमा विद्या मन्दिर सार्वजनिक पुस्तकालय शुभारम्भ

पाल्पा, पाल्पाको रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ । बढ्दो शहरीकरण संगै पूर्वाधार विकासको क्रममा रहेको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले विद्या मन्दिर सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याएको हो ।

फाउण्डेशनले नगर क्षेत्रको आवश्यकता परिपूर्तिका लागि रामपुर ५ बेझाँड नहअफिसमा पुस्तकालय शुभारम्भ गरेको हो । प्रध्यापक, शिक्षक, विद्यार्थी संगै उद्योगी, व्यवसायी तथा स्थानीयहरुको ज्ञान अभिवृद्धिका लागि पुस्तकालय शुभारम्भ गरिएको हो । छठ पर्वको अवसर पारेर शुक्रबार एक कार्यक्रमका शुभारम्भ गरिएको हो । पुस्तकालयको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद एवं नेपाली कांग्रेस पाल्पाका सभापति विर बहादुर रानाले पछिल्लो समय हरेक क्षेत्रमा नैतिक शिक्षाको खडेरी परेको बताउनुभयो । व्यवहारिक र नैतिक शिक्षाको अभावले शासन व्यवस्था परिवर्तन भए पनि अभाव र समस्या कायम रहेको बताउनुभयो । उहाँ समाजलाई सचेत गराउन उचित ज्ञानको अभाव रहेको भन्दै यसको परिपूर्ति पुस्तकालयले गर्ने बताउनुभयो । उहाँले अध्ययनलाई व्यवहारमा लागू गर्न नसक्दा विश्वमा समस्या देखिएको समेत उल्लेख गर्नुभयो । रानाले आफ्नो तर्फ बाट आवश्यक सहयोगका लागि पहल गर्ने बताउँदै पुस्तकालयको दिगोपनको लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय प्रविधिको विकास संगै पुस्तक पढ्ने बानी हराउनु दुखद् रहेको बताउनु भयो । उहाँले आवश्यक ज्ञान आर्जन गर्ने सहज आधार पुस्तकालय रहेको बताउनुभयो । साथै रामपुरमा पुस्तकालय हुनु नगरको गौरवको विषय रहेको बताउनुभयो । थापाले संस्था संग नगरपालिका सदा साथमा रहेको भन्दै आवश्यक सहयोगको लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले पुस्तकालय सञ्चालनले विकृति हटाउन समेत टेवा पुग्ने बताउनुभयो । मोबाईल तथा इन्टरनेटमा झुम्मिने पछिल्लो पुस्तालाई यस तर्फ आकर्षित गर्न सकेमा ठूलो राहत मिल्ने बताउनुभयो । उहाँले व्यस्त मानिसहरुलाई ज्ञान आर्जन गर्दै समय विताउनका सहयोग गर्ने बताउनुभयो ।
कालीगण्डकी फाउण्डेशनका सल्लाहाकार सन्दिप रानाले पुस्तकालय अहिले सुरुवात मात्र गरिएको बताउँदै यसको विस्तार र दिगोपनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले रामपुर अझ सम्भावना बोकेको स्थान रहेको भन्दै यसले थप नयाँ आयाम थप्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले पछिल्लो पुस्तामा नैतिक शिक्षाको अभाव रहेको भन्दै आवश्यक नैतिक शिक्षा र व्यवहारिक ज्ञान प्रदानमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, किताब यात्राका प्रमुख ऋषि आचार्य र रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले ज्ञानको लागि पुस्तक अपरिहार्य रहे पनि पठनसीपको अभाव रहेका बताए । साथै उनीहरुले पुस्तकालयको दिगो सञ्चालनको शुभकामना दिएका थिए ।
कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले अहिले पहिलो चरणमा धार्मिक, सांस्कृतिक, साहित्य, इतिहास तथा पाठ्यक्रमका पुस्तकहरु गरी ४ हजार ५ सय बढी पुस्तक राखिएको जानकारी दिनुभयो । उहाँले कार्यविधी अनुसार पुस्तकालय सञ्चालन गरिने भन्दै स्थानिय, प्रदेश र संघिय सरकारको सहकार्यमा ईलाईब्रेरीको अवधारणा अनुसार अघि बढ्ने बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम उपाध्याक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?