रामपुरमा सोमबार दुई वटा विद्यालयको भवन शिलन्यास

पाल्पा, रामपुर नगरपालिकामा सोमबार दुई वटा विद्यालयको भवन शिलन्यास गरिएको छ । रामपुर नगरपालिका वडा नं. ७ को आधारभूत माध्यमिक विद्यालय र रामपुर नगरपालिका वडा नं. ६ को नवदुर्गा माध्यमिक विद्यालयमा राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई मार्फत साउदी फण्डको सहयोगमा निर्माण हुन लागेको भवनको शिलन्यास गरिएको हो ।

आधारभूत माविमा रामपुर ७ डुम्रिगाउँमा ९ कोठे भवन शिलन्यास गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले भुकम्प बाट प्रभावित सबै आंशिक क्षति भएका संरचनाहरुलाई पुन : निर्माण गर्न प्राधिकरण तयार रहेको बताउनुभयो । उहाँले आंशिक क्षति भए पनि फेरी भत्किन्छ की भन्ने त्रासमा रहेका जनतालाई सुरक्षित आवास प्रदान गर्न प्राधिकरण तयार रहेको जानकारी गराउनुभयो । साथै उहाँले विद्यालयमा बन्ने नयाँ भवन गुणस्तरिय रुपमा निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।“विद्यालयको भवनले शिक्षा दिदैन भौतिक विकास संगै शैक्षिक गुणस्तर वृद्धि गरी गुणस्तरिय शिक्षा प्रदान गर्न सके मात्रै भौतिक निर्माणले सार्थकता पाउँछ” उहाँले भन्नुभयो । कार्यक्रममा लुम्बिनि प्रदेशका सांसद युवराज खनालले विद्यालयमा गुणस्तरिय शिक्षा दिनका लागी भौतिक पक्ष पनि सक्षम हुनु पर्ने बताउँदै गुणस्तरिय र व्यवहारिक शिक्षा प्रदान गर्नका लागी सबै मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाले व्यवहारिक शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । साथै उहाँले शिक्षाले मात्र अबको शिक्षा गुणस्तरिय र व्यवहारिक हुनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना ईकाईका राम प्रसाद सापकोटाले विद्यालयमा निर्माण गरिने भवन तोकिएकै समयमा गुणस्तरिय रुपमा निर्माण गर्नु पर्ने भन्दैै प्राधिकरणले यसको निरिक्षण गर्ने बताउनुभयो । साथै उहाँले भवनको संरचनाको बारेमा पनि जानकारी दिनुभएको थियो । विद्यालयमा निर्माण हुने भवनका निर्माण व्यवसायी लक्ष्मी प्रसाद सुवेदीले समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिलन्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि रामपुरका इन्चार्ज राजु प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई र रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले बोल्दै विद्यालयले छोटो समय मै प्राप्त गरेको उपलब्धिलाई थप उचाईमा पु¥याउन भवन निर्माण संगै स्तरिय शिक्षाका लागी शिक्षक, विद्यार्थी र अविभावक मिलेर अगाडी बढ्नु पर्ने बताउनुभयो । आधारभूत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमको स्वागत र विद्यालयका शिक्षक ध्रुव शर्माको संचालनमा सम्पन्न भएको हो ।

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले नवदुर्गा मावि रामपुर ६ तिलकपुरको १२ कोठे भवन पनि शिलन्यास गर्नु भएको छ । वैदिक विधी पूर्वक भवनको शिलन्यास गर्दै उहाँले रामपुर क्षेत्र प्रचुर सम्भावना बोकेको स्थान रहेको बताउनुभयो । कालीगण्डकी करिडोर, भिमाद आरुण खोला सडक निर्माण सम्पन्न भए संगै देशको मुख्य शहरको रुपमा चिनिने बताउनुभयो । उहाँले नगरको गुरुयोजना बनाएर नगर, प्रदेश र संघिय सरकार विचको समन्वयले मात्र विकासको गति अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद युवराज खनालले नगरको शिक्षा क्षेत्र संगै समग्र विकासको लागि प्रदेश सकार गम्भीर भएर लागेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार निर्माण संगै स्तरिय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगरभित्रका विद्यालयहरुमा करोडौंका भौतिक संरचना निर्माण हुनु गर्वको कुरा रहेको बताउनुभयो । उहाँले नगरपालिका प्रदेश र संघिय सरकार संग समन्वय गरेर अघि बढिरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेको स्वागत र शिक्षक दिपेन्द्र भट्टराईको सञ्चालनमा भएको हो ।

आधारभूत माविको भवन भ्याट बाहेक २ करोड ९ लाख २३ हजार ९ सय ६ रुपैयाँ ३८ पैसा र नवदुर्गा माविमा २ करोड १९ लाख ९८ हजार ४ सय ४० रुपैयाँ १४ पैसामा एमएस शर्मा न्यू टेक्निकल जेभीले ठेक्का लिएको हो । दुवै भवन २०७८ माघ १९ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?