पाल्पा, रामपुर नगरपालिका भित्र बसोबास गर्दै आएका भुजेल घर्ती समुदायहरु आफ्ना मौलिक संस्कृतका बारेमा अध्ययन अवलोकनका लागि तनहुँको आँदीमूल पुगेर फर्किएका छन् । तनहुँको आँबूखैरेनी गाउँपालिका २ स्थित आँदीमूल पुगेर फर्किएका हुन् ।
आदीबासी जनजाति अन्तर्गत सिमान्तकृत भुजेल घर्ती समुदायको मौलिक भाषा, कला संस्कृति, भेषभुषा र रितिरिवाजको बारेमा अवलोकन संगै अध्ययनका लागि घर्ती भुजेल समूह रामपुरको सक्रियतामा रामपुर नगरपालिका बाट शनिबार १ सय ६५ जना भन्दा बढीको समुह आँदीमूल पुगेका थिए । समुन्द्री सतह बाट २ हजार २ सय मिटरको उचाईमा रहेको आँदीमुल बाट सिकेर आफ्ना नयाँ पिढीलाई संस्कृतिको बारेमा जानकारी दिन तथा संस्कृति संरक्षणका लागि अनुभव साट्न रामपुुरका घर्ती भुजेल समुदाय अवलोकनका लागि पुगेको हो । घर्ती भुजेल समाज रामपुरका अध्यक्ष ईन्द्र बहादुर घर्ती र भ्रमण टोलीका संयोजक रामबहादुर भुजेलको नेतृत्वमा रामपुर नगरपालिका ६ का जनप्रतिनिधी सहित टोली पुगेको थियो । आँदीमूल पुगेको टोलीलाई आँबूखैरेनी गाउँपालिका १ का वडा अध्यक्ष कृष्णबहादुर थापाले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा रामपुर वडा न ६ को वडाध्यक्ष हुमनाथ न्यौपाने, घर्ती भुजेल केन्द्रीय सचिव विमल घर्ती, घर्ती भुजेल समाज रामपुरका अध्यक्ष ईन्द्र बहादुर घर्ती, हेमबहादुर भुजेल लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । अबलोकन भ्रमणमा वडा सदस्य यमबहादुर भुजेल र थीरलाल ढकाल वडा सचिव बासुदेव ढकाल लगाएतको उपस्थीति रहेको थियो । आँबूखैरेनी घर्ती भुजेल समुहबाट मायाको चिनो प्रदान गरिएको थियो । रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले रामपुर घर्ती भुजेल समूहको संस्कृति संरक्षण र प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । रामपुर नगरपालिका ६ का वडा सदस्य यम बहादुर भुजेलले यस अघि पनि भुजेल समुदाय एकताबद्ध भएर लागि परेको र अब मौलिक भाषाको जगेर्ना संगै संस्कृति संरक्षणका लागि आवश्यक कार्यक्रम तय गरिने बताउनुभयो ।
आँबूखैरेनी गाउँपालिका १ को आँदीमूलमा अहिले ७० घर बढी परिवार बसोवास गर्दै आएका छन् । दुई शताब्दी अघि देखि मंगोल भोट बर्मा बाट आएका घर्ती भुजेलहरु बस्दै आएका छन् । भुजेल समाज सेवा समितिका भाषा संस्कार सस्कृति प्रमुख रेशम भुजेलका अनुसार बाग्लुङ्ग र म्याग्दीको निसी भुजि र घट्खोलामा बस्नेहरु बसाई सर्दै अन्यत्र जाने क्रममा निसी भुजि बाट आएकालाई भुजि भुजि भन्दा भन्दै अप्रभंस भएर भुजेल भन्न थालिएको हो । घट्खोला बाट आउने हरुलाई घर्ता भन्दै घर्ती भन्न थालिएको हो । शब्दहरु अप्रभंस हुँदै गर्दा घर्ती भुजेल भन्ने गरिएको उहाँको भनाई छ । यस समुदायले मुख्य परिकारका रुपमा गिठा, भ्याकुर, वनका कन्दमुल रहेको र पोषाकका रुपमा पनि घाँगर, चोलो, घलेक, भोटो र कछाड रहेको छ । घर्ती भुजेलहरु अहिले पनि बाँस बाट विभिन्न सामाग्रीहरु बनाउने गर्दछन् । त्यहाँ समुदाय अहिले पनि आफ्नै वनमा निर्भर छन् ।