रामपुरमा मेलमिलापकर्ताहरुको लागि ३ दिने पुर्नताजगी तालिम सुरु

पाल्पा, रामपुर नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरुको लागि ३ दिने पुर्नताजगी तालिम रामपुरमा सोमबार देखि सुरु भएको छ । नगरभित्र सूचीकृत भएका ३० जना मेलमिलापकर्ताहरुलाई थप जागरुक गराई गाउँमै न्यायिक सेवालाई प्रभावकारी बनाउन रामपुर नगरपालिकाले तालिम सञ्चालन गरेको हो ।

होटेल नमस्ते पाल्पाको सभाहलमा सुरु भएको तालिमको एक कार्यक्रमका विच शुभारम्भ गरिएको थियो । तालिम शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गाउँटोलमा हुने स–साना विवादहरुलाई न्यायिक ढंग बाट गाउँमै समाधान गर्न सकेमा मात्र जनताले न्यायको अनुभुति गर्ने बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरुलाई सक्रिय भएर लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले मेलमिलापककर्ताहरुलाई न्यायिक कार्यमा थप व्यवस्थित बनाएर अघि बढाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, वडा नं. ८ का वडा अध्यक्ष बोम बहादुर नाम्जाली, वडा नं. २ का वडा अध्यक्ष तारा बहादुर थापा, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सोमबार देखि बुधबार सम्म सञ्चालन हुने तालिमको सहजीकरण रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, रामपुर नगरपालिकाका मेलमिलापकर्ता कपिल बहादुर खाँण र सीता डोटेलले गरिरहनु भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक विष्णु देवी घिमिरे आचार्यको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम न्यायिक समितिका सदस्य विष्णु प्रसाद बस्यालको स्वागत र न्यायिक समितिका सदस्य सचिव पुजा परियारको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?