काठमाडौँ, सरकारले देशभरका शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं लगाएत देशका विभिन्न ठाउँमा केही दिनदेखि वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि मंगलबार देखि ४ दिनलाई बन्द गर्ने निर्णय गरेको ।
शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले मंगलबारदेखि चैत्र २० गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ उपत्यका संगै देशका विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ । जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल–कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यका सहित देशका कैयौँ भेगमा फैलिएको वायु प्रदुषण र तुवाँलो तत्काल हट्ने सम्भावना नरहेको विज्ञहरूले बताएपछि सरकारले यो निर्णय गरेको हो । प्रदूषण हट्न आवश्यक पर्ने वर्षा वा वायुको गतिका लागि केही दिन अझै प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको विज्ञहरूले बताएका छन् ।
वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सावधानी अपनाउन अपिल गरिसकेको छ । मन्त्रालयले सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारी साधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ । देशभर विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म करिब ७० लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।