पाल्पा – रविकिरण माध्यमिक विद्यालय रम्भा गाउँपालिका ३ पिपलडाँडा पाल्पाका विद्यार्थीहरुले फाेन गर्दा पैसा नलाग्ने सिम कार्ड पाएका छन् । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई रम्भा गाउँपालिका पाल्पाले फोन गर्दा पैसा नलाग्ने सिमकार्ड वितरण गरेको हाे । कोभिडको समयमा अनलाइन कक्षा चलिरहेका बेला फोन गर्दा पैसा नलाग्ने सिम पाए पछि विद्यार्थीमा उत्साह बढेको छ । संघिय सरकारको सशर्त अनुदान मार्फत विद्यालयको कक्षा ४ देखि १० सम्मका १ सय ३९ जना विद्यार्थीहरुलाई गाउँपालिकाले सिम वितरण गरेको हो । विद्यार्थी र शिक्षकहरुले एक आपसमा फोन गर्दा पैसा नलाग्ने क्लोज यूजर ग्रुप सिमकार्ड पाएका छन् । विद्यार्थीहरुलाई ग्रुप भित्र फाेन सम्पर्क गर्न निशुल्क हुने सिम पाएपछि शिक्षक संगको सिकाइमा विद्यार्थीको चासो बढेको विद्यालयका प्रधानाध्यापक केश बहादुर सारु मगरले बताउनुभयो ।सिकाईका क्रममा समस्या परेमा विद्यार्थीहरुले सजिलै शिक्षक संग सोध्न मिल्ने भएकाले विद्यार्थीहरुका लागि सहज भएको प्रधानाध्यापक सारुले बताउनुभयो । विद्यार्थीहरुले सम्बन्धित शिक्षकहरु संग प्रश्नोत्तर गर्न सहज हुने र शिक्षण सिकाई प्रभावकारी हुने भएकाले यो कार्यक्रम अनलाइन कक्षाका लागि निकै प्रभावकारी भएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो । सिमकार्ड नेपाल टेलिकम पाल्पाले वितरण गरेको हो ।