पाल्पा, पाल्पाको पूर्वी क्षेत्र कै पहिलो माध्यमिक विद्यालय रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाले बस सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला कै आकर्षक शैक्षिक गन्तव्यको रुपमा परिचित रामतुलसी माध्यमिक विद्यालयले सामुदायिक विद्यालय तर्फ पूर्वी क्षेत्र मै पहिलो पटक स्कुल बस सञ्चालनमा ल्याएको हो ।
नमुना माध्यमिक विद्यालयको रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालयले सोमबार एक कार्यक्रम गरी स्कुल बस सेवा शुभारम्भ कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेशका सांसद युबराज खनाल र रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले संयुक्त रुपमा रिबन काटेर बस सेवाको शुभारम्भ गर्नु भएको हो । प्रदेश सांसद् खनालले कार्यक्रममा बोल्दै आफुले अध्ययन गर्दाका दिनको स्मरण गर्दै विद्यालय बाटै बस सेवा शुभारम्भ हुनु गर्बको कुरा रहेको बताउनुभयो । खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘तत्कालीन समयमा परका विद्यार्थी ५ र ६ घण्टा लगाएर विद्यालय आउनु पर्ने बाध्यता थियो । अहिले भौतिक सुबिधा संगै यातायात सुबिधा हुँदा आफ्नो विद्यालय भन्दै गर्दा गर्व लाग्छ ।’ साथै खनालले भौतिक संगै शैक्षिक गुणस्तर वृद्धि गर्न यहाँ नै पढौं भन्ने भावना जागरित गराउनु पर्नेमा जोड दिनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समुदायको विविधता संगै विद्यालयका लागि आवश्यकता फरक फरक हुने बताउनुभयो । विभिन्न वर्ग, भाषा तथा समुदाय बाट आउने विद्यार्थीहरुलाई मिलाएर लैजानु चुनौति पूर्ण रहेपनि विद्यालयले चालेको कदमको प्रशंसा गर्नुभयो । नगर प्रमुख थापाले शिक्षा क्षेत्रको उत्थान र व्यवस्थापनको लागि नगरले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले रामतुलसी अध्ययन गर्न चाहाना भएका दुरीका हिसाबले परका विद्यार्थीहरुको सहजताको लागि स्कुल बस सञ्चालन गरिएको बताउनुभयो । उहाँले विद्यालयको लागि एउटा बस पर्याप्त नभएको बताउँदै अन्य बस तथा मन्टेश्वरीका विद्यार्थीहरुलाई लक्ष्यित गर्दै भ्यान खरिद गर्ने तयारी भैरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले नमुना विद्यालयको सुचकहरु अन्तर्रगत स्कुल बस सेवा पर्ने भएकोले सेवा सुरुवात गरिएको बताउनुभयो । उहाँका अनुसार १९ लाख ६० हजारको लागतमा बस खरिद गरिएको हो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा देबि रानाको स्वागत र विद्यालयका शिक्षक लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा भएको हो ।
जिल्ला मै सबै भन्दा धेरै विद्यार्थी रामतुलसी माध्यमिक विद्यालयमा अध्ययनरत रहेका छन् । विद्यालयमा हाल कक्षा १२ सम्म २ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् । बस सेवा शुभारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, राजनीति दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबि, संघ सस्थाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । विद्यालयमा हाल अंग्रेजी र नेपाली माध्यममा बालविकास देखि कक्षा १२ सम्म विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी संकायमा पढाई हुँदै आएको छ । प्राविधिक धार तर्फ ३ वर्षे कृषिबाली विज्ञान सञ्चालनमा रहेको छ ।