रामपुर क्षेत्रमा देउसी भैलोको रौनक (फोटो फिचर)

पाल्पा, कोरोना महामारीका कारण गत वर्षको तिहारमा सुनसान बनेको पाल्पाको बजार तथा गाउँ क्षेत्रमा यस वर्ष देउसी भैलोको भाका गुन्जिएका छन् । कोरोना त्रास कायम नै रहेपनि संक्रमण दर न्यून हुनुका साथै खोप अभियान पश्चात जनजिवन पुरानै लयमा फर्किन थाले पछि यस वर्ष देउसी र भैलोको रौनक छाएको हो ।

पाल्पाको तानसेन, रामपुर लगाएतका विभिन्न बजार क्षेत्र र गाउँहरुमा यतिबेला देउसी र भैलोको भाकाले केही गुन्जाएमान बनाएको छ । रामपुर नगरको मुख्य केन्द्र बेझाँडमा पनि भैलोको भाका घन्किएका छन् । आफ्नै मौलिक भाका सहितका भैली भने कम नै देखिन्छ । अडियो डान्स सहितको देउसी खेलेको देखिन्छ ।

विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न क्लव तथा संघ संस्थाले मौलिकपन कायम राख्दै सामाजिक क्षेत्रका कार्य सम्पादनका लागि देउसी भैलो खेलेको पाईएको छ । रामपुर युवा क्लवले सफा रामपुर, उज्यालो रामपुर भन्ने नाराका साथ देउसी भैलो कार्यक्रम आयोजना गरेको हो । बेझाँड बजार क्षेत्रलाई सफा र उज्यालो बनाउने ध्येयका साथ कार्यक्रम आयोजना गरिएको क्लवले जनाएको छ । क्लवले यस अघि बेझाँड बजार क्षेत्रका १७ स्थानमा सडक बत्ती जडान गरेको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिनका लागि देउसी भैलो खेलिएको रामपुर युवा क्लवका अध्यक्ष छम बहादुर दरैले जानकारी दिनुभयो ।

त्यस्तै रामपुरमा मौलिक संस्कृतिको संरक्षणका लागि शिवसेना नेपाल रामपुरले पनि देउसी भैलो कार्यक्रम गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारको बेला बेलुका ७ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेकाले सकेसम्म देउसी भैलो नखेल्न र खेलेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर थोरै संख्यामा बेलुका ७ बजेसम्म मात्र खेल्न आग्रह गरेको छ ।
हेरौं रामपुर बेझाँड बजार क्षेत्रमा भएका देउसी भैलो कार्यक्रमको केही झलकहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?