रामपुर नगर भित्रका प्रधानाध्यापकहरु विच असल अभ्यास आदन–प्रदान

पाल्पा, रामपुर नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुले सोमबार आफ्ना विद्यालयमा भएका असल अभ्यास आदन प्रदान गरेका छन् । रामपुर नगरपालिका शिक्षा शाखाका आयोजनामा भएको असल अभ्यास आदन–प्रदान तथा क्षमता विकास कार्यक्रममा नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले अनुभव एक आपसमा आदन प्रदान गरेका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यालयको पूर्वाधार, स्रोत र साधनको व्यवस्थापनको लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउँदै गुणस्तर सुधारमा विषेश जोड दिने समय आएको बताउनुभयो । उहाँले उपलब्ध स्रोतको उच्चतम प्रयोग गर्दै प्रविधि मैत्री वातावरण निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले एक अर्काको अनुभवले शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने भएकाले यस्ता कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो ।

साविक जिल्ला शिक्षा कार्यालय पाल्पाका पूर्व जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले विद्यालय सुधारको लागि शिक्षकको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज रुपान्तरण संगै शिक्षकले चाहेमा विद्यालयमा आमुल परिवर्तन ल्याउन सक्ने उल्लेख गर्नुभयो । विद्यालयको सुधारको लागि पालिकाले विद्यालय स्वास्थ्य र नियमित अनुगमनमा विशेष ध्यान दिने आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले विद्यालय सुधारको लागि अनुभव साटासाटले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटा, दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटा, जनशान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक ढक बहादुर सिंजाली, आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतम, भूपू सैनिक राईजिङ्ग ईङ्गलिश स्कुलका प्रधानाध्यापक गोपी सिग्देल, ज्ञान मञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानश मल्ल, बालसिद्ध प्राविका प्रधानाध्यापक लेख प्रसाद श्रेष्ठ, जनहित प्राविका प्रधानाध्यापक जमुना आचार्य, सिद्धार्थ प्राविका प्रधानाध्यापक अर्जुन पराजुली र कालिका माविका शिक्षक शंकर सुनारले आफ्ना विद्यालयमा भएका नमुना अभ्यासको बारेमा जानकारी गराउनुभएको थियो ।

रामपुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको अध्यक्षतामा भएको थियो । रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक अनिता कुँवरको सञ्चालनमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?