माझटोलमा सम्पन्न गाउँ स्तरिय खुल्ला पुरुष भलिबलको उपाधी हरिनास र महिला तर्फको गल्धालाई

पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा भएको गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधी स्याङ्जाको हरिनास गैराखोला र महिला तर्फको उपाधी निस्दी ५ गल्धाले हात पारेको छ । जुनतारा युवा क्लवको आयोजनामा गत पुस १६ देखि भएको प्रतियोगिताको उपाधीको लागि विहिबार भएको फाईनल खेलमा पुरुष तर्फ तनहुँको घिरिङलाई ३/२ सेटले पराजित गर्दै हरिनासले उपाधी जितेको हो ।

पहिलो र चौथो सेट घिरिङले २८/२६ र २५/२१ अंक सहित हात पारेको थियो । दोस्रो, तेस्रो र पाँचौ सेट २५/२३, २५/२१ र १५/१३ अंक सहित हात पार्दै हरिनास प्रथम भएको हो । फाईनलमा पछि परे संगै घिरिङ द्धितिय भएको छ । त्यस्तै तेस्रो स्थान छनौटको लागि भएको खेलमा रामपुर नगरपालिका ७ लाई २/० को सोझो सेटमा पराजित गर्दै रामपुर नगरपालिका ३ तृतिय भएको छ । रामपुर ३ ले पहिलो सेट २५/१८, र दोस्रो सेट २५/२२ अंक सहित जितेको थियो ।

त्यस्तै महिला भलिबल तर्फको उपाधीको लागि भएको खेलमा रामपुर ५ मटेरीलाई २/० सेटले पराजित गर्दै निस्दी ५ विजेता बनेको हो । रामपुर ५ मटेरी उपविजेता भएको छ । प्रतियोगितामा पुरुष तर्फ २० समुह र महिला तर्फ ७ समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, द्धितिय र तृतियले क्रमश नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।साथै महिला भलिबल तर्फ विजेतालाई नगद १० हजार उपविजेतालाई ५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको थियो । पुरुष भलिबल तर्फ उत्कृष्ट खेलाडी रामपुर ३ समुहका अनिल दर्लामी, वेष्ट डिफेन्डर हरिनासका टेम सिं थापा, वेष्ट व्लकर हरिनासका सागर मानान्धर, वेष्ट स्पाईकर घिरिङका हुम बहादुर थापा भएका छन् । त्यस्तै महिला तर्फ वेष्ट डिफेन्डर रामपुर ५ मटेरीका जिना थापा, वेष्ट स्पाईकर निस्दी ५ गल्धाका निरमा सारु भएकाे सदस्य गाेविन्द थापाले जानकारी दिनुभयाे ।

विजयी समुहलाई पुरस्कृत गर्दै रामपुर नगरपालिकका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदको विकासको लागि स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलकुदको विकासको लागि ठूलो सहयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिका खेलकुदको विकासको लागि प्रतिवद्ध भएर लागेको बताउनुभयो । खेल संयोजक लोक बहादुर आले (राजन)को अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सल्लाहाकार एवं पत्रकार बासुदेव ढकालको स्वागत र क्लवका सदस्य सुदिप गैरेको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?