कात्तिक ११ ।
पाल्पा, स्याङ्जाको चापाकोटमा शुक्रबार देखि हुन गइरहेको आठौँ कालीगण्डकी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । चापाकोट नगरपालिका-९ स्थित गंगालाल माविको खेल मैदानमा कात्तिक १३ देखि १८ गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक द राईजिङ ग्रुप चापाकोटले जनाएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी दिएको थियो । द राईजिङ ग्रुपका अध्यक्ष लालबहादुर घर्तीले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । खेलकुदको विकास, फुटबल खेलको प्रबर्द्धन गर्दै नयाँ पुस्तालाई खेल प्रति आकर्षित गर्न कालीगण्डकी गोल्ड कपको आयोजना गरिएको बताउनुभयो । देश तथा विदेशमा रहनुभएका खेल प्रेमी महानुभावहरुको साथ र स्थानीयको सक्रियतामा ११ वर्षदेखि रोकिएको प्रतियोगितालाई पुन: निरन्तरता दिन लागिएको बताउनुभयो ।
आयोजकले प्रतियोगिता सञ्चालनका लागि ३३ लाख आम्दानी जुटाउने लक्ष्य लिएको छ भने २३ लाख खर्च हुने अनुमान गरेको छ । बचत भएको रकम खेलमैदान निर्माण, फुटबल खेलाडीहरुलाई प्रशिक्षण तालिम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष घर्तीले बताउनुभयो ।
पत्रकार सम्मेलनको अवसरमा ट्रफी सार्वजनिक गरिएको थियो । द राइजिङ ग्रुपका अध्यक्ष लालबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रम चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण ईश्वरको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी खाँणले ११ वर्ष देखि सञ्चालन हुन नसकेको कालीगण्डकी वेशीको पहिचानको रुपमा स्थापित कालीगण्डकी गोल्ड कप पुन सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । फुटबल खेलको उत्थानमा कालीगण्डकी गोल्डकपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । चापाकोट नगरपालिका-९ का वडा अध्यक्ष कृष्ण सुवेदीले प्रतियोगिता सम्पन्न गर्नका लागि सबैको साथ र समन्वय आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगितामा स्याङ्जा, पाल्पा, रुपन्देही, कास्की, पर्वत र गोरखा जिल्ला बाट आठ समूहको सहभागिता रहने खेल संयोजक धिराज खाँणले बताउनुभयो । प्रतियोगितामा आयोजक द राईजिङ ग्रुप चापाकोट, होराइजन क्लब वालिङ, बौद्ध शान्ति फुटबल क्लव पोखरा, मर्दीखोला युनाइटेड पर्वत, ज्योतिपुञ्ज युवा क्लब रामपुर, भदौरे क्लब कास्की, गोरखा फुटबल क्लब गोरखा, योङ्ग व्याईज देवदह रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेता टिमले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगदसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण (ईश्वर), उपप्रमुख ईशा राना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमको सञ्चालन द राइजिङ ग्रुप चापाकोटका सचिव गोपीकृष्ण रेग्मीले गर्नु भएको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend