कार्त्तिक ९ ।
पाल्पा, कालीगण्डकी भजन सङ्गमको आयोजनामा पाल्पाको रामपुर नगरपालिका-५ बेझाँडमा चोकमा आईतबार घुम्ती भजन भएको छ । घुम्ती भजन अभियान अन्तर्गत कालीगण्डकी भजन सङ्गमले रामपुर युवा क्लवको सहकार्यमा भजन कृतन गरेको हो ।
भक्ति, सङ्गीत, संस्कृति र सामाजिक सद्भावको साझा अभियानका रूपमा सञ्चालन भएको अभियानमा सयौंको संख्यामा सहभागीता रहेको थियो ।भजन तथा सङ्गीतका माध्यमबाट धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन भएको अभियान अन्तर्गत भएको भजन कृतनको अवसरमा मादल, तबला, हार्मोनियम, खैजडी र झ्यालीले बेझाँड बजार परिसर गुन्जयमान भएको थियो ।
कालिगण्डकी भजन सङ्गमका अध्यक्ष गणेश प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी श्रेष्ठले भजन कृतनले भक्ति भाव जगाउनुका साथै संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने बताउनुभयो । घुम्ती भजन अभियानले स्थानीय मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्दै समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने बताउनुभयो । भजन कृतनमा कालिगण्डकी उपत्यकाको पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको भजन कृतन टोलीको सहभागिता रहेको थियो ।
“कालिगण्डकी उपत्यकाको मौलिक संस्कृति संरक्षण गरौँ, भक्ति र सङ्गीतमार्फत सामाजिक सद्भाव बढाऔँ” भन्ने नारासहित अभियान सञ्चालन हुँदै आएको छ । कार्यक्रमको सञ्चालन लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend