असोज ३१ ।
पाल्पा, रामपुरमा सम्पन्न चौथो ज्योतिपुञ्ज कपको च्याम्पियन गन्नी फुटबल क्लव पोखरा बन्न सफल भएको छ । शनिबार भएको फाइनल खेलमा हनामी बीएफसी चितवनलाई ट्राइब्रेकरमा पराजित गर्दै गन्नी एफसीले तेस्रो संस्करणको उपाधि जितेको हो ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहित गत असोज २३ देखि सुरु भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा हनामी बीएफसी चितवनलाई ट्राइब्रेकरमा ४–३ ले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बन्न सफल भएको हो ।
फाइनल खेलको पहिलो हाफको ९ मिनेटमा आशिष गुरुङले गन्नी एफसीका लागि गोल गर्दै १–० को अग्रता दिलाउन सफल भएको थियो । तर दोस्रो हाफको २५ औं मिनेटमा हनामी बीएफसी चितवनका कृष्ण आलेले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काउन सफल हुनुभयो । दुवै टिमले बराबरीमा एक अर्कालाई दबाबमा राखे पनि निर्धारित समयमा थप गोल हुन नसके पछि खेल ट्राईबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा गन्नी एफसीका लागि सुमन श्रेष्ठले हानेको पहिलो बल हनामी बीएफसीका मनोज गुरुङले सहजै रोकिदिएका थिए । हनामीका लागि सुजित बुढाथोकीले गोल गर्न सफल भयो । दोस्रो बलमा गन्नीको तर्फ बाट सुमित श्रेष्ठ र हनामी बीएफसीको तर्फ बाट हार्दिक भण्डारीले गोल गरेका थिए । तेस्रो बलमा गन्नीका तर्फ बाट सन्तोष खत्रीले गोल गरे पनि हनामी बीएफसीका अनिश परियारले हानेको बल बाहिरिए संगै खेल बराबरीमा फर्किएको थियो । चौथो बलमा गन्नीका आशिष गुरुङ र हनामीका विज्ञान खड्का दुवै जनाले गोल गरेका थिए । तर पाँचौ बलमा गन्नीका किप्पर दिप कार्कीले हानेको बल गोलमा परिणत भए पनि हनामी बीएफसीका कृष्ण आलेले हानेको बल भने बाहिरिएको थियो ।
पेनाल्टी सुटआउटमा हनामीको दुई बल बाहिरिए पछि उपाधि गन्नी एफसीले आफ्नो पक्षमा पारेको हो । ज्योतिपुञ्ज युवा क्लवले ३० औं वार्षिक उत्सवको अवसरमा रामपुर–७, किसानबारी ज्योतिपुञ्ज खेल मैदानमा सञ्चालन गरेको चौथो ज्योतिपुञ्ज कपको फाइनलमा पराजित भए संगै हनामी बीएफसीले उपविजेतामा सिमित भएको छ ।
प्रतियोगितामा सात जिल्लाका १० वटा समूहको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेता गन्नी एफसीले नगद ३ लाख ६६ हजार ६६६ रुपियाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ । साथै उपविजेता हनामी बीएफसीले नगद २ लाख ११ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल प्राप्त गरेको छ । सेमिफाइनलमा पराजित टिम सम्पूर्ण युवा क्लव र सूर्यपुर एफसीलाई ३०–३० हजार रुपियाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी हनामी बीएफसीका रोशन पहरी भएको छ । उत्कृष्ट गोलकिपर गन्नी एफसीका दीप कार्की, उत्कृष्ट गन्नी एफसीका आशिष गुरुङ, हाईस्कोरर ठकुरी कल्याण समाजका गणेश हमाल, इमर्जिङ सम्पूर्ण युवा क्लवका सुगम ठकुरी, र उत्कृष्ट कोच गन्नी एफसीका किस्मत श्रेष्ठ भएको कार्यक्रमका खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपियाँँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचलाई जनही १०–१० हजार सहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर क्षेत्री, नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन र क्लवका अध्यक्ष सुन्दर रानाले पुरस्कार प्रदान गर्नु भएको थियो । रामपुर नगर प्रमुख रमण बहादुर थापाले प्रतियोगिताले रामपुरको पहिचान संगै नयाँ खेलाडीहरुमा थप उर्जा प्रदान गरेको बताउनुभयो । क्लवको सक्रिता, मेहेनत र ढृद इच्छा शक्तिलाई मध्यनजर गर्दै किसानबारीमा रंगशाला निर्माणका बजेट विनियोजन गरिएको बताउनुभयो ।
रामपुर नगरपालिकाको संरक्षणमा गत असोज २३ देखि सुरु भएको प्रतियोगिता ‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान’ भन्ने नाराको साथ सञ्चालन भएको थियो । चौथो संस्करण सम्म आइपुग्दा युवाहरुलाई खेलप्रति आकर्षित गर्दै सक्षम खेलाडी उत्पादन गर्ने, स्तरीय खेलमैदान निर्माण गरी खेलकुद मैत्री वातावरण निर्माण गर्ने ध्येयका साथसञ्चालन गरिएको ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाले बताउनुभयो । उहाँले प्रतियोगिता सञ्चालनको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता र शुभेच्छुकहरुमा आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन खुम सारुले गर्नु भएको हो । खेल अवलोकनका लागि टिकट खरिद गर्नु भएका दर्शकहरु मध्ये क्लवले भाग्यशाली विजेता मध्ये एक जनालाई बम्पर उपहारमा फ्रिज उपहार प्रदान गरेको छ । रामपुर ६ का संयोग गैरेले उपहार प्राप्त गर्नु भएको हो । प्रतियोगितामा दैनिक रुपमा पनि विजेताहरुलाई उपहार प्रदान गरिएको थियो ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend