असोज २५ ।
पाल्पा, पछौटेपन उन्मूलन समाज (बेस)–नेपालको ३४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आइतबार निस्दी गाउँपालिका–१, भोटाहास्थित केन्द्रीय कार्यालयमा साधारण सभा सम्पन्न गरेको हो ।
बेस नेपालका अध्यक्ष उमा देवी भट्टराईको अध्यक्षता तथा निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले बाल अधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रको उत्थानमा बेस नेपालले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले गाउँपालिका संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका गैरसरकारी संघसंस्थाहरू वैदेशिक अनुदान कटौतीका कारण निष्क्रिय बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय तहले गैरसरकारी संघसंस्थाको सीप, अनुभव र क्षमताको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक मुद्दासँगै जलवायु परिवर्तनका असर न्यूनीकरणका क्षेत्रमा समेत सक्रिय हुन उहाँले आग्रह गर्नुभयो ।
मुलुकको विकास र परिवर्तनमा गैरसरकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै श्रेष्ठले बाल अधिकार, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा राधाकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक भेष बहादुर अधिकारी, संस्थाका पूर्वअध्यक्ष चेमन प्रकाश पोखरेल र संस्थापक सदस्य भीम बहादुर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा बेस नेपालले निस्दी गाउँपालिका–१, बाकामलाङस्थित राधाकृष्ण माध्यमिक विद्यालयलाई ‘बेस सिर्जना वर्ष पुरस्कार’ प्रदान गरेको छ । प्रमुख अतिथि श्रेष्ठले विद्यालयलाई दोसल्ला, प्रमाणपत्र र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गर्नुभएको हो ।
त्यसैगरी, संस्थामा उत्कृष्ट योगदान पुर्याएको भन्दै उपाध्यक्ष मेदनिलाल पाण्डे (दिनेश) लाई ‘बेस कर्मवीर सम्मान’ प्रदान गरिएको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीका रूपमा छबिलाल सुनारीलाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भावी रणनीति तथा संस्थाले सामना गरिरहेका चुनौतीबारे जानकारी गराउनुभएको थियो । संस्थाका कोषाध्यक्ष महेश यादवले दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपसचिव प्रेम नारायण पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भेषराज पोखरेलले गर्नुभएको थियो ।
साधारण सभाले आगामी पाँच वर्षका लागि तयार गरिएको आवधिक योजना पारित गरेको छ । साथै, पछिल्लो समय जलवायु परिवर्तनका कारण उत्पन्न समस्याको समाधानका लागि बहस तथा पैरवी गर्ने प्रस्तावसमेत पारित गरेको संस्थाले जनाएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend