असोज २२ ।
पाल्पा, भोलि देखि रामपुरमा हुन गैरहेको चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ज्योतिपुञ्ज युवा क्लवले ३० अौं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको प्रतियोगिताको तयारी सकिएको आयोजकले जनाएको छ ।
आगामी असोज ३१ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बारेमा आयोजकले विहीबार अपरान्ह पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनको अवसरमा क्लवले ट्रफी समेत सार्वजनिक गरेको थियो । क्लवका अध्यक्ष सुन्दर राना, खेल संयोजक अनिल शाही, पूर्व अध्यक्ष सुदिप गौतम, पूर्व अध्यक्ष धुर्व पोखरेल, सुद्दाम्शु हमाल लगाएतले सार्वजनिक गर्नु भएको थियो । ज्योतिपुञ्ज कप कालीगण्डकी वेशी क्षेत्रकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा परिचित छ ।
क्लवका अध्यक्ष सुन्दर रानाले प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिदै प्रतियोगितालाई विगतको भन्दा थप व्यवस्थित बनाउने प्रयास गरिएको बताउनुभयो । ‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान’ भन्ने नाराका साथ चौथो संस्करणको प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउँदै उहाँले सबै सरोकारवालाहरुको साथ र सहयोगको लागि आग्रह गर्नुभयो । सक्षम खेलाडी उत्पादन गर्ने, खेललाई पर्यटन संग जोड्ने, रामपुरमा स्तरीय खेलमैदान निर्माण तथा खेलकुद मैत्री वातावरण विकास गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा१० समूहको सहभागिता रहने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । शुक्रबार देखि आगामी असोज ३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक ज्योतिपुञ्ज युवा क्लब, रुपन्देहीको देवदह ब्वाइज क्लब, स्याङ्जाको चापाकोट आरएफसी, होराइजन क्लब वालिङ, रुपन्देहीको सम्पूर्ण युवा क्लब, नवलपरासीको भैरव स्पोर्टस क्लब, चितवनको सूर्यपुर फुटबल क्लब, नवलपरासी पूर्वको ठकुरी कल्याण समाज, चितवनको हनामी बीएफसी र पोखराको गन्नी फुटबल क्लब विच प्रतिस्पर्धा हुने शाहीले बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेल ठकुरी कल्याण समाज र आयोजक ज्योतिपुञ्ज युवा क्लबबीच दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ६६ हजार ६ सय ६६ रुपियाँ सहित ट्रफी प्राप्त गर्नेछ ।उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको छ । सेमिफाइनलिस्ट टिमले ३० हजार रुपियाँ र उत्कृष्ट खेलाडीले २० हजार रुपियाँ प्राप्त गर्नेछ ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक विधामा जनही १० हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपियाँ प्रदान गरिने भएको छ ।‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान’ भन्ने नाराका साथ चौथो संस्करणको प्रतियोगिता हुन लागेको हो ।
क्लवको वार्षिक उत्सवको अवसरमा असोज ३० गते मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता हुँदैछ । हाजिरजवाफ प्रतियोगिताका संयोजक रमेश पोखरेलले प्रतियोगिताको बारेमा जानकारी दिदै गण्डकी वेशी क्षेत्रका इच्छुक विद्यालय बाट कार्यक्रममा सहभागी हुन सक्ने बताउनुभयो । प्रतियोगितामा प्रथमले नगद १२ हजार, द्वितियले ९ हजार, तृतियले ६ हजार र सान्त्वनाले ३ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने जानकारी दिनुभयो ।
ज्योति पुञ्ज कपको प्रायोजन वाइवाइले गरेको छ ।गण्डकीवेशी क्षेत्रका विभिन्न व्यक्ति तथा संघ संस्था बाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।प्रतियोगिताको खेल अवलोकनका लागि क्वाटर फाइनल सम्म १०० र सेमिफाइनल र फाइनल खेल अवलोकनका लागि २०० प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको प्रेस संयोजक कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम क्लवका अध्यक्ष सुन्दर रानाको प्रमुख आतिथ्यतामा भएको थियो । क्लवका सचिव गोपाल दमैको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन निलकण्ठ पोखरेलले गर्नु भएको हो ।प्रतियोगिताको लागि किसानबारी खेल मैदानलाई घेराबार गरिएको छ । साथै दर्शकहरुलाई सहज रुपमा बसेर खेल अवलोकनका लागि अस्थायी प्यारापिट निर्माण गरिएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend