शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३

अधिवेशन विकास र लोकनिर्माणको संकल्प गर्ने अवसर हो : सन्दीप राना



असोज १४ ।
पाल्पा, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं  पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले पार्टीको अधिवेशनलाई पदपूर्ति गर्ने माध्यमका रूपमा मात्रै नहेरी संगठन सुदृढीकरण, समाज निर्माण र विकासको नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाल्पा क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै रानाले विगतमा कांग्रेसले प्रजातन्त्र र नागरिकका अधिकारका लागि संघर्ष गरेको स्मरण गर्दै अबको पुस्ताले विकास र लोकनिर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।



उहाँले अधिवेशन कुनै व्यक्ति पदमा पुग्ने विषय मात्र नभई नयाँ ऊर्जा र संकल्पका साथ पार्टी, समाज र राष्ट्रलाई अगाडि बढाउने अवसर भएको उल्लेख गर्नुभयो। कांग्रेसको स्थापनाकालदेखि नै लोकतन्त्र र जनताको अधिकारका लागि भएका संघर्ष तथा शहीदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूले देखाएको बाटोबाट प्रेरणा लिएर वर्तमान पुस्ताले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ थियो। रानाले विगतमा अधिकार र लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको भए पनि अहिले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै विकास र लोकनिर्माणको अभियानमा अघि बढ्ने समय आएको बताउनुभयो। “पहिले अधिकार र लोकतन्त्रका लागि लड्यौँ, अब विकास र लोकनिर्माणका लागि अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

पाल्पा क्षेत्र नं. १ का नागरिकले नेपाली कांग्रेसलाई प्रतिनिधिसभामा विकासको आवाजका रूपमा अनुमोदन गरेको उल्लेख गर्दै रानाले आफूलाई प्राप्त पाँच वर्षको जिम्मेवारीलाई जनताको अपेक्षा र विश्वासअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले क्षेत्रका शहीद तथा अग्रज नेताहरूले देखाएको सपना पूरा गर्ने जिम्मेवारी अहिलेको युवा पुस्ताको काँधमा रहेको बताउनुभयो। शहीद सूर्य घिमिरे, शहीद रवि थापा तथा अग्रज नेता टंकनाथ खनाल, स्वर्गीय नेता गम्भीर कार्की, विजयराज घिमिरे लगायतको योगदान स्मरण गर्दै उहाँले उहाँहरूको सपना र राजनीतिक आदर्शलाई विकाससँग जोडेर अघि बढ्नुपर्ने बताउनुभयो ।

रामपुर नगरपालिकामा रमणबहादुर थापाले दुई पटक नगर प्रमुखका रूपमा नेतृत्व गर्दै विकासको नयाँ स्वरूप प्रस्तुत गरेको प्रसंग उल्लेख गर्दै रानाले कांग्रेसको नेतृत्वले सिद्धान्तसँगै विकास र जनताको अपेक्षालाई पनि व्यवहारमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो।
रानाले कांग्रेसका अग्रजहरूले विगतमा अधिवेशन सम्पन्न गर्न गरेको कठिन संघर्षसमेत स्मरण गर्नुभयो। बर्खाको समयमा प्लास्टिक ओढेर, खोला–नाला तरेर दुई–दुई दिनसम्म यात्रा गर्दै अधिवेशनमा सहभागी हुने गरेको प्रसंग उल्लेख गर्दै उहाँले अहिले भव्य टेन्ट, यातायातलगायतका सुविधा उपलब्ध भएको बताउँदै अब संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो।

उहाँले पद प्राप्त गर्नु अधिकारभन्दा ठूलो दायित्व भएको उल्लेख गर्दै निर्वाचित हुने प्रत्येक व्यक्तिले आफूलाई प्राप्त जिम्मेवारीप्रति न्याय गर्नुपर्नेमा जोड दिनुभयो। संगठन र राष्ट्रका लागि काम गर्ने क्रममा अनुशासन, विनम्रता र जिम्मेवारीबोध कायम राख्नुपर्ने उहाँको भनाइ थियो।

आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था आएमा नेतृत्व र दायित्व अन्य सक्षम साथीलाई हस्तान्तरण गर्ने संस्कार विकास गर्नुपर्ने धारणा पनि रानाले राख्नुभयो। लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्दै संगठनलाई निरन्तर गतिशील बनाउनुपर्ने उहाँले बताउनुभयो। यसैबीच, रानाले असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण पाल्पालगायतका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो।

अधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै रानाले संगठनलाई थप मजबुत बनाउँदै विकास र लोकनिर्माणको अभियानमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो। रामपुरमा भएको अधिवेशनको उद्घाटन प्रजातन्त्र सेनानी बुद्धराज भट्टराईले दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ पाल्पाका सभापति सभापति झमन बहादुर राज मगरले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो। त्यस्तै क्षेत्रीय कार्यसमितिका सचिव कपिल बहादुर खाँणले साँगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ पाल्पाका सचिव मधु पराजुलीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव खाँणले गर्नुभएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend