मंगलबार, असोज १३ २०८३

मंगलबार, असोज १३ २०८३

कालीगण्डकीको बहाब बढेपछि आइतबार भुजात क्षेत्र दिनभर डुबानमा



असोज ११ ।
पाल्पा, कालीगण्डकी नदीको बहाब बढेपछि तटिय क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु आइतबार डुबानमा परेको छ । विहिबार देखि परेको अविरल वर्षका कारण नदीमा हाल सम्म कै ठूलो बाढी आएको छ । नदीले रामपुर नगरपालिका-८ को सिद्धबाबा धाम भुजात क्षेत्रलाई डुबानमा पारेको हो ।



सिद्धबाबा पर्यटन विकास समितिका अध्यक्ष त्रिलोचन अधिकारीले विहानै देखि भुजात क्षेत्र डुबानमा परेको बताउनुभयो । मन्दिरको कम्पाउण्ड परिसर संगै शिबको मुर्ति, शिवलिङ्ग भएको स्थान, खाली चौर पूर्ण रुपमा डुवेको छ । साथै स्याङ्जा बाट ल्याईएको खानेपानीको पाइप पनि बगाएको छ । बाढी हाल सम्म कै ठूलो रहेको ५३ वर्षिय अधिकारीले बताउनुभयो ।

कालीगण्डकीको बाढीले भुजात गाउँ र मन्दिरको लागि स्याङ्जा बाट ल्याईको खानेपानीको पाईप समेत बगाएको रामपुर ८ का वडा अध्यक्ष दिनेश आचार्यले बताउनुभय‍ो । बाढीले सेरा बराहटार लिफ्टिङ्ग सिचाईको पम्प समेत डुबाएको छ भने  रामपुर ८ को गौरी खेत, अम्दाई खेत, तुरुन्दी दोभान क्षेत्रमा धानखेतहरु बगाएको छ । बाढीेले रामपुर होस्दी तालगह्रामा दुईघर डुबानमा पारेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको रामपुर-१० का वडा अध्यक्ष तोयानाथ सारु थापाले बताउनुभयो । साथै तालगह्रा र मसल्याहामा खेत कटान गरेको छ । रामपुर-४ भडभानमा एकघर सहित धानबाली सहितको खेत डुबानमा पारेक‍ो वडा अध्यक्ष राम बहादुर रानाले जानकारी दिनुभयो । यस्तै रम्भा गाउँपालिकाको विभिन्न स्थानमा नदीले क्षति गरेक‍ो छ ।

वडा नं. १ को कालीगण्डकी गुरुकुल विद्यालयको कम्पाउण्ड, लक्ष्मी नारायण धाम पिपल संरक्षण प्रतिस्थान हुँगीमा क्षति गरेको छ । हुँगीको माझी गाउँमा नदी किनारका  स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो । नदीले हुँगीको यालुङ्ग क्षेत्रमा ठूलो परिमाणमा धानबालीमा क्षति गरेको बताउनुभयो ।

मानविय क्षति नभएपनि भौतिक संरचनामा ठूलो क्षति भएको बताउनुभयो ।बगनासकाली गाउँपालिकामा पनि कालीगण्डकीको बहाबले क्षति गरेको छ । रानीमहल डुबानमा पर्नुका साथै वडा नं. ६ को  नदी किनारको बस्तीलाई स्थानान्तरण गरिएक‍ो गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभय‍ो । मानविय क्षथि नभएपनि कालीगण्डकी संगै तिनाउ खोलाले डुबानमा पार्नुका साथै पहिरोले पनि उत्तिकै क्षति भएक‍ो र क्षतिको विवरण संकलन भैरहेको उहाँले बताउनुभयो । नदीले कालीगण्डकी करिडोरमा समेत क्षति पुगेक‍ो छ । राम्दीमा जोखिममा रहेको बस्ती बाट स्थानीयलाई सारिएको छ ।

कालीगण्डकीको बहाब बढेपछि नदी माथि निर्माण गरिएका पुलहरुमा पनि क्षति पुगेको छ । आइतबार आएको बाढीले पाल्पाको रामपुर नगरपालिका-१ काशीवन र तनहुँको घिरिङ गाउँपालिका-१ अत्रौली जोड्ने झोलुङ्गे पुलमा क्षति गरेको छ । पुलको लठ्ठा बाहेक अन्य संरचना नदीले बगाएको रामपुर नगरपालिका-१ का वडा अध्यक्ष कपिल बहादुर खाँणले जानकार दिनुभयो । रामपुर नगरपालिका-१ स्याउली बजार र घिरिङ गाउँपालिका एक पुट्टार जोड्ने झोलुङ्गे पुलको एउटा सहायक लठ्ठा चुडेको छ । यस्तै रामपुर-१ टापुधाम र घिरिङ-१ भण्टार जोड्ने झोलुङ्गे पुलमा पनि क्षति भएको छ । रामपुर-१० होस्दी र चापाकोट जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

बाढीले कालीगण्डकी नदीमाथि बनेको रम्भा गाउँपालिका -१ च्याङ्लिङ र स्याङ्जाको गल्याङ नगरपालिकाको बेलचौर जोड्ने झोलुङगे पुलमा पनि क्षति भएको छ । पुलको एक वटा लठ्ठा चुडेको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । यस्तै  रामपुर नगरपालिका-३ र चापाकोट नगरपालिका-६ जोड्ने केलादीघाटको मोटरेबल पुलको माथि बाट नदीको बहाव बगेको थियो । पुल माथि नदीले काठ तथा ढुङ्गा बालुवा थुपारेको छ । साथै रामपुर-६ र चापाकोट-७ जोड्ने गौरीघाटको मोटरेवलपुल, रामपुर नगरपालिका-१० होस्दी र चापाकोट नगरपालिका जोड्ने निर्माणाधिन मोटरेबल पुललाई  पानीको बहावले छोएको थियो।

पानी पानी विसाएकाले पुल र नदी हेर्न जानेको भिड लागेको थियो । त्यस्तै रामपुर नगरपालिका-४ को बडभानमा पनि कालीगण्डकीको बहावले डुबानको अवस्था सृजना गरेको छ । अविरल वर्षाका कारण आइतबार रामपुर नगरपालिका-५ दध्रानको माथिल्लो भागमा पहिरो खसेको थियो । पहिरो पश्चात् आएको भल सहितको लेदो स्थानीयको घरमा पसेको थियो ।
झण्डै १० घरमा लेदो सहितको भल पसेको थियो । पहिरो बाट क्षति हुन नदिन जेसिबि प्रयोग गरि भलको धार परिवर्तन गरिएको वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

लगातारको वर्षाद संगै बस्ती माथि बाट पहिरो खसेपछि रामपुर नगरपालिका-१० होस्दीका १० घर परिवारलाई स्थानान्तरण गरिएको छ । कालीगण्डकी करिडोरको होस्दी देखि मगरे गाउँ जाने सडक चौडा गरे पश्चात वर्षाद संगै खसेको पहिरोले यहाँको बस्ती जोखिममा रहेको थियो । विहीबार देखि परेको अविरल वर्षाका कारण पुन: पहिरो खस्न थालेपछि १० भन्दा बढी घरपरिवारलाई  स्थानान्तरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend