पाल्पा, सिद्धार्थ राजमार्गअन्तर्गतको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ। लगातारको वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले असोज ८ गतेदेखि असोज १२ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न आवागमन बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै नेपाल मौसम विज्ञान विभागबाट सूचनालाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सम्बन्धित सबैलाई निर्धारित समयमा दोभान–सिद्धबाबा सडकखण्डमा यात्रा नगर्न तथा वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरेको छ। आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन केन्द्र १२३४ मा सम्पर्क गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी पन्थी द्वारा जारी सूचनामा उल्लेख छ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend