असोज ४ ।
पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, भालेबास भएको फोर्स जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार भएको जिप दुर्घटनामा परी गम्भीर घाइते हुनु भएका पूर्वखोला गाउँपालिका–४ बस्ने ६३ वर्षीय अनसरा खाम्चाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो करिब ३ः३० बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे.१ ज. ९७६ नम्बरको फोर्स जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा चालक सहित पाँच जना घाईते भएका छन् । घाइते हुनेहरुमा चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, पूवखोला गाउँपालिका–१ का ५० वर्षीय कृष्ण बहादुर राजमगर, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन ४ भगवतीटोल बस्ने २८ वर्षीय मनकुमारी सारु, उहाँको छोरी ७ वर्षीय साहिरस सारु र अनसरा खाम्चाको नातिनी ५ वर्षीय सायरा खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको छ । घाइतेको उद्धारका लागि प्रहरी चौकी प्रभास बाट प्रहरी सहायक निरीक्षक, जिल्ला प्रहरी कार्यालय पाल्पा बाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको थियो । फोर्स गाडी आफै अनियन्त्रीत भई बाटोबाट अन्दाजी २० मिटर तल खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप रानाले लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले दुर्घटनामा परी ज्यान गुमाउनु भएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा उपचाररत सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend