असोज २५ ।
पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले ‘श्रमजीवी’ बुलेटिन सार्वजनिक गरेको छ। शाखाले २०८३ सालको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित बुलेटिन सार्वजनिक गरेको हो ।
नेपाल प्रेस युनियन पाल्पा शाखाका अध्यक्ष दुर्गेश मल्लको अध्यक्षता भएको कार्यक्रम नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । अर्यालले पत्रकारिता लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण र समाजमा सुशासन कायम गर्न महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले पत्रकारले सत्य, तथ्य र निष्पक्षतामा आधारित समाचार सम्प्रेषण गर्दै जनताको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो । श्रमजीवी पत्रकारका पेसागत समस्या, श्रमको उचित सम्मान, न्यूनतम पारिश्रमिक र पेसागत सुरक्षाका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउँदै ‘श्रमजीवी’ बुलेटिनले पत्रकारका सवाल र प्रेस युनियनका गतिविधिलाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले स्वतन्त्र र जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभयो । उहाँले समाजमा भएका सकारात्मक कामको प्रचारसँगै विकृति, विसङ्गति र अनियमितता विरुद्ध खबरदारी गर्नु पत्रकारिताको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रले जनताको विश्वास कायम राख्दै सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताउँदै पत्रकारका हकहितको संरक्षण, पेसागत मर्यादाको प्रवर्द्धन र सञ्चार क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै, ‘श्रमजीवी’ बुलेटिनको प्रकाशनले पत्रकारिता क्षेत्रका गतिविधि र श्रमजीवी पत्रकारका मुद्दालाई थप प्रभावकारी रूपमा सार्वजनिक गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, नेपाल प्रेस युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गैरे, अक्षयकोषदाता सागर महर्जन, सुरेश कर्माचार्य लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई शुभकामना दिएका थिए ।
नेपाल प्रेस युनियन पाल्पा शाखाका उपसभापति विष्णु खनालले स्वागत गर्नुभएको कार्यक्रम सचिव दुर्गा प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा शाखाले तयार पारेको ‘श्रमजीवी’ बुलेटिन सार्वजनिक गरिएको थियो। बुलेटिनले पत्रकारिता क्षेत्रका गतिविधि, श्रमजीवी पत्रकारका सवाल तथा युनियनका गतिविधिलाई पाठकमाझ पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend