असोज २८ ।
पाल्पा, रामपुरमा जारी चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार अन्तिम क्वाटरफाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिताको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
रामपुर नगरपालिका–७, किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सम्पूर्ण युवा क्लब रुपन्देहीले होराइजन क्लब वालिङ, स्याङ्जालाई ट्राइब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो ।
यसअघि सूर्यपुर फुटबल क्लब, नवलपरासी पूर्व, गन्नी फुटबल क्लब, पोखरा र हनामी बीएफसी चितवनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवन र सूर्यपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, शुक्रबार हुने दोस्रो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब रुपन्देही र गन्नी फुटबल क्लब, पोखरा आमनेसामने हुने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।
अन्तिम क्वाटरफाइनल खेलमा सम्पूर्ण युवा क्लब रुपन्देही र होराइजन क्लब वालिङले एकअर्कालाई कडा चुनौती दिएका थिए । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । उक्त खेलमा सम्पूर्ण युवा क्लबका गोलरक्षक प्रदीप सुनार प्लेयर अफ द म्याच घोषित हुनुभयो ।प्रतियोगिताको फाइनल खेल आगामी असोज ३१ गते शनिबार हुने ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर रानाले बताउनुभयो ।
ज्योतिपुञ्ज युवा क्लबको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता ‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान’ भन्ने नारासहित असोज २३ गतेदेखि सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend