सोमबार, मंसिर ८ २०८३

सोमबार, मंसिर ८ २०८३

अन्धकारमुक्तिको सेवा केन्द्र तथा पालिका स्तरीय साधारण सभा चार स्थानमा सम्पन्न



मंसिर ६ ।
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले एकै दिन चार स्थानमा सेवा केन्द्र तथा पालिका स्तरीय  संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले शनिबार शेयर सदस्यहरूको सहजता र पायक पर्ने स्थानलाई मध्यनजर गर्दै ताहुँ, रामटार, जब्गादी र निस्दी गाउँपालिका स्तरीय साधारण सभा छुट्टाछुट्टै स्थानमा सम्पन्न गरेको हो ।



संस्थाले सदस्यहरूको सहभागिता सहज बनाउन सेवा केन्द्रगत रूपमा साधारण सभा सञ्चालन गरेको जनाएको छ । ताहुँ सेवा केन्द्रको साधारण सभा रम्भा गाउँपालिका–५ स्थित रम्भा माध्यमिक विद्यालय, जब्गादी सेवा केन्द्रको रामपुर नगरपालिका–९ स्थित भानुभक्त माध्यमिक विद्यालय, रामटार सेवा केन्द्रको रामपुर नगरपालिका–१० स्थित जनकल्याण माध्यमिक विद्यालय र निस्दी गाउँपालिका स्तरीय साधारण सभा निस्दी गाउँपालिका–५ गल्धास्थित जनता माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । रामटार सेवा केन्द्र स्तरीय साधारण सभा संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको अध्यक्षता र रामपुर नगरपालिका–१० का वडा अध्यक्ष तोयानाथ सारु थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सारुले साना तथा ठूला व्यवसायीको आर्थिक उत्थान र व्यवसाय विस्तारमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । सहकारीले स्थानीयस्तरमा पूँजी परिचालन गर्दै उद्यमशीलता प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा समाजसेवी नारायणप्रसाद भट्टराई, लोकप्रसाद श्रेष्ठ, घनश्याम भट्टराई, कालीगण्डकी आधारशिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष वसन्त भण्डारी, जनकल्याण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दामोदर तिमिल्सिना तथा शेयर सदस्यहरू उपेन्द्र अधिकारी, जानुका भट्टराई, तेजकुमारी बस्याल र गणेशप्रसाद भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको हालसम्मको गतिविधि, प्रगति तथा भावी योजनाबारे जानकारी गराउँदै साधारण सभाका प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो । ऋण उपसमिति सदस्य विष्णुप्रसाद भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रम ऋण अधिकृत हुमनाथ बगालेले सञ्चालन गर्नुभएको थियो ।

यस्तै जब्गादी सेवा केन्द्र स्तरीय साधारण सभा संस्थाका उपाध्यक्ष सुरेश आचार्यको अध्यक्षता र रामपुर नगरपालिका–९ का वडा अध्यक्ष डिलबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले वित्तीय सेवा प्रवाहसँगै सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । ग्रामीण क्षेत्रका महिला तथा उद्यमीहरूको आर्थिक उत्थानमा सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले स्थानीय जनताको आर्थिक समृद्धिका लागि नगरपालिका सहकारी संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार सागरप्रसाद देवकोटा, लेखा सुपरिवेक्षण समितिका सदस्य विष्णुप्रसाद लम्साल, जनशान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक ढकबहादुर नाम्जाली, अनुगमन तथा निरीक्षण उपसमिति सदस्य भीमबहादुर नाम्जाली, शेयर सदस्य केशवराज पंगेनी, सीमा श्रेष्ठ, बालकुमारी हिस्की र राजन सुनारलगायतले संस्थाको गतिविधि तथा सहकारी क्षेत्रको वर्तमान अवस्थाबारे धारणा राख्नुभएको थियो । वक्ताहरूले सहकारीले लगानी गरेका क्षेत्रको नियमित अनुगमन गर्नुपर्ने र वित्तीय संस्थाबाट ऋण लिँदा आफ्नो आर्थिक क्षमताको मूल्याङ्कन गरेर मात्रै कारोबार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

संस्थाका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले साधारण सभाका प्रस्ताव तथा एजेण्डाबारे जानकारी गराउनुभएको थियो । सञ्चालक समिति सदस्य मञ्जुदेवी पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रम कर्मचारी चोलेश्वर चापागाईंले सञ्चालन गर्नुभएको थियो ।

यसैगरी ताहुँ सेवा केन्द्रको साधारण सभा संस्थाका सचिव मधुसुदन आचार्यको अध्यक्षता र रम्भा गाउँपालिका–५ का वडा अध्यक्ष खुमकान्त बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले ग्रामीण क्षेत्रको आर्थिक विकासमा सहकारीको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । स्थानीय शेयर सदस्यहरूकै सहभागिता र लगानीमा सहकारी सञ्चालन हुने भएकाले सदस्यहरूले विश्वासका साथ कारोबार गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा रम्भा माध्यमिक विद्यालयका सदस्य हरिबहादुर बाह्रघरे, रम्भादेवी पर्यटन प्रतिष्ठानका अध्यक्ष विनोदकुमार श्रेष्ठ, सतिढुङ्गा लिफ्ट खानेपानीका अध्यक्ष अनिलविक्रम श्रेष्ठ, समाजसेवी ईश्वरीप्रसाद श्रेष्ठ तथा शेयर सदस्यहरू सुमित्रा थापा सारु र सरिता गोदारले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको उद्देश्यबारे सदस्य सुरज गौतमले प्रकाश पार्नुभएको थियो भने लेखा समिति सदस्य रामप्रसाद ढकालले साधारण सभाका प्रस्तावबारे जानकारी गराउँदै छलफल सहजीकरण गर्नुभएको थियो ।

शिक्षा उपसमिति सदस्य प्रकाशराज श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रम सहयोगी सेवा केन्द्र प्रमुख इन्दिरा भट्टराई बस्यालले सञ्चालन गर्नुभएको थियो ।

यस्तै निस्दी गाउँपालिका स्तरीय साधारण सभा निस्दी-५ ढुङ्गाना बेशीमा सम्पन्न भएको छ । सञ्चालक समिति सदस्य तथा ऋण उपसमिति संयोजक तिल बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहाकार सुकदेव पोखरेलक‍ो प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रमुख अतिथी पोखरेलले शेयर सदस्यहरुको साथ र मायाँले सहकारीले फड्को मारेको बताउनुभयो । उहाँले सहकारीलाई अघि बढाउन शेयर सदस्यहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तर्क बहादुर बयम्बु, समाजसेवी हिम बहादुर थापा पचभैया लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभाको प्रस्ताव माथि संस्थाका सदस्य तिल बहादुर श्रेष्ठले प्रकाश पार्नु भएको थियो।  शिक्षा उपसमिति सदस्य विष्णु बहादुर बयम्बुको स्वागत बाट सुरु भएको  कार्यक्रमको सञ्चालन नारायण ढकालले गर्नु भएको थियो ।

साधारण सभाका अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट लघुवित्त केन्द्र, केन्द्र प्रमुख, बाल बचतकर्ता, असल ऋणी, सफल व्यवसायी तथा नियमित बचतकर्तालाई सम्मान एवं पुरस्कृत गरेको छ । सहकारीले सदस्यहरूमा नियमित बचत गर्ने बानीको विकास, उद्यमशीलता प्रवर्द्धन र वित्तीय अनुशासन कायम गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा सदस्यहरूलाई पुरस्कृत गरेको जनाएको छ । संस्थाले केन्द्रीय कार्यालय रामपुर तथा सहयोगी सेवा केन्द्रअन्तर्गतका शेयर सदस्यहरूका लागि आज आइतबार आधारभूत माध्यमिक विद्यालयमा साधारण सभा आयोजना गर्ने जनाएको छ । सेवा केन्द्र बाट छनौट हुनु भएका प्रतिनिधिहरुको भेलाले साधारण सभाको निर्णय पारित गर्नेछ । निर्णयार्थ साधारण सभा मंसिर ९ गते संस्थाको कार्यालय सभाहलमा हुनेछ । २०५५ सालमा खेतको आली बाट सुरु भएको सहकारीको गत आर्थिक वर्ष सम्ममा कुल पुँजि १ अर्ब ६५ करोड ४१ लाख ५३ हजार ६ सय ४ पुगेको छ । सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा २ करोड ७९ लाख २७३ रुपैयाँ नाफा गर्न सफल भएको छ । सहकारीमा हाल ११ हजार ८४७ सेयर सदस्य आवद्ध हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend