मंसिर ६ ।
पाल्पा, रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) को मापदण्डअनुसार ८० प्रतिशतभन्दा बढी सूचक पूरा गरेपछि विद्यालयले उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।
यसअघि जिल्लाको दमकडा माध्यमिक विद्यालयले उक्त प्रमाणपत्र प्राप्त गरेको थियो । आइतबार आयोजित औपचारिक कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ (अशोक) र प्रधानाध्यापक बालकृष्ण लम्साललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रतिनिधिसभा सदस्य सन्दीप राना प्रमुख अतिथ्यतामा भएको हो । प्रमुख अतिथी रानाले रामपुरलाई वैदिक स्मार्ट सिटी र शैक्षिक हबका रूपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ । उहाँले रामपुरको सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिक पहिचानलाई आधुनिक विकाससँग जोडेर अघि बढाउने योजना सुनाउनुभयो ।एउटा चौतारीबाट सुरु भएको विद्यालयले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल हुनु सबैका लागि गौरवको विषय भएको उहाँको भनाइ थियो । विद्यालय स्थापनाका लागि योगदान गर्ने अग्रज, संस्थापक तथा सहयोगीहरूलाई स्मरण गर्दै उहाँले विद्यालयको विकासमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
रानाले रामपुर क्षेत्रलाई वैदिक स्मार्ट सिटी, माथिल्लो क्षेत्रलाई सांस्कृतिक पर्यटन क्षेत्र र विगतको एकीकरण मार्गलाई गौरव पर्यटन क्षेत्रका रूपमा विकास गर्ने परिकल्पना अघि सार्नुभयो । आधुनिक सडक र भौतिक संरचनाको विकाससँगै सामाजिक, सांस्कृतिक तथा वैदिक पहिचानलाई समेत संरक्षण र प्रवर्द्धन गर्दै सहरको रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
रानाले विदेश जाने सपना मात्र नभई देशप्रेमको भावना बोकेर अघि बढ्न आग्रह गर्नुभयो । अबका विद्यार्थी रोजगारी खोज्ने (जब सिकर) मात्र नभई रोजगारी सिर्जना गर्ने (जब क्रिएटर) बन्नुपर्ने उहाँको जोड थियो । अरूसँग रोजगारी माग्नेभन्दा पनि आफूले ज्ञान र सीप हासिल गरेर अरूलाई रोजगारी दिन सक्ने जनशक्ति बन्न उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले हिजो ढुङ्गामा बसेर अध्ययन गरेको विद्यालय आज अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्नु गौरवको विषय भएको बताउनुभयो । उहाँले रामतुलसी मावि जिल्ला मात्र नभई देशकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित भएको उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । विद्यालयले हासिल गरेको उपलब्धिलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामतुलसी माविले नगरको गरिमा थप उच्च बनाएको बताउनुभयो । विद्यालयले अन्तर्राष्ट्रिय स्तरको पहिचान बनाउन सफल हुनु रामपुरकै शैक्षिक क्षेत्रका लागि उपलब्धि भएको उल्लेख गर्दै उहाँले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले विद्यालयको गुणस्तरलाई निरन्तरता दिन शैक्षिक व्यवस्थापन, शिक्षण सिकाइ र विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि गर्न सरोकारवाला सबैको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । संस्कार सहितको शिक्षा प्रदानका लागि जेष्ठ नागरिक स्कुल सञ्चालन गरेको बताउँदै नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापनाको लागि नगरपालिकाले सरोकारवालाहरु संग छलफल अघि बढाएको बताउनुभयो।
शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख प्रेमराज खरेलले प्राप्त गरेको गुणस्तरलाई कायम राख्दै विद्यालयले आगामी दिनमा पनि शैक्षिक उपलब्धि हासिल गर्नुपर्ने बताउनुभयो । प्रमाणपत्र प्राप्त गर्नु मात्र ठूलो कुरा नभई त्यसले निर्धारण गरेका मापदण्डलाई व्यवहारमा निरन्तर लागू गर्नु महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
रामपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख विकल काफ्लेले विद्यालय आफैमा अब्बल स्थापित भैसकेको अवस्थामा अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरणले थप गरिमा बढाएको बताउनुभयो । दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले रामतुलसी माविले प्राप्त गरेको उपलब्धिले अन्य विद्यालयलाई पनि शैक्षिक गुणस्तर सुधार र संस्थागत विकासका लागि प्रेरणा मिल्ने बताउनुभयो ।
कक्षा ११ का विद्यार्थी एञ्जल बगालेले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्नु विद्यार्थीका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले विद्यालयको उपलब्धिले विद्यार्थीमा थप उत्साह र जिम्मेवारीबोध बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक उत्कृष्टता कायम राख्न सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
ग्लोबल क्वालिटी काउन्सिलका नेपाल राष्ट्रिय निर्देशक शर्माले विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रका ८० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।प्रमाणपत्र संगै थप जिम्मेवारी थपिएको बताउनुभयो । प्रमाणीकरणको लागि नियमित विवरण अपडेटमा सहयोग गर्नुहुने विद्यालयको टिमलाई धन्यवाद ज्ञापन गर्दै उहाँले प्राप्त उपलब्धिलाई निरन्तरता दिँदै थप उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले अन्तराष्ट्रिय मापदण्ड अनुसार शतप्रतिशत सुचक पूरा गर्नका सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । विद्यालयको शैक्षिक, भौतिक तथा चौतर्फी विकासका लागि ल विद्यालयले गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले आईएसओ प्रमाणिकरणको प्रमाणपत्रले थप उत्साह जगाएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य शेषकान्त भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend