सोमबार, मंसिर ८ २०८३

सोमबार, मंसिर ८ २०८३

२०० बढी साइकलयात्रीले गरे पूर्वी पाल्पाका पर्यटकीय गन्तव्यको भ्रमण



मंसिर ६ ।
पाल्पा,  तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ आइतबार सम्पन्न भएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसारका लागि पाल्पा जिल्ला साइक्लिङ सङ्घको आयोजनामा शनिबार तानसेन बाट सुरु भएको साइकल यात्रा आइतबार समापन गरिएको हो ।



जिल्लाको पूर्वी क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि संघले तानसेन दरबारबाट पुर्व तर्फको साइकल यात्राको आयोजना गरेको थियो ।  शनिबार तानसेन बाट सिद्धार्थ राजमार्गको आर्यभञ्ज्याङ हुँदै चिदीपानी, हुमिन, पूर्वखोला, सारङ्गीखोला, ज्यामिरेको चारघरे, मित्याल हुँदै २०० बढी साइकल यात्री निस्दी गाउँपालिकाको काउलेडाँडा पुगेको थियो । मगर संस्कृतिमा आधारित सांस्कृतिक झाँकीमा रम्दै, काउले डाँडा बाट आइतबार विहान हिमाल देखि तराई सम्मको दृश्य अवलोकन गरेर सहलकोट हुँदै कीर्तिपुर आईपुगेको यात्राको टोली रजघरा, गण्डकी ढिक बाट रामपुर नगरपालिका-१ को टापुधाम पुगेको थियो ।
टापुधाम बाट फर्कीएर कालीगण्डकी करिडोर हुँदै ज्याग्दी पार्कमा पुगेर यात्राको समापन गरिएको हो । आयोजक पाल्पा जिल्ला साइक्लिङ सङ्घले सहभागी साइकल यात्रीहरुलाई मेडल प्रदान गरी सम्पदा यात्राको समापन गरेको हो । पाल्पा जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष रुपेशमान महर्जनको अध्यक्षतामा भएको कार्यक्रम प्रतिनिधि सभा सदस्य सन्दीप रानाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी रानाले हाल सम्म उजागर हुन नसकेका पर्यटन गन्तव्य र   ओझेलमा रहेका संस्कृतिको पहिचानको लागि ‘मेरो सांसद्, मेरो अधिकार’ कार्यक्रम अन्तर्गत साइक्लिङ सङ्घ संग समन्वय गरेर पूर्वी क्षेत्रमा कार्यक्रम गरिएको जानकारी दिनुभयो । साइकल यात्राले ग्रामीण भेगका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई चिनाउनुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो ।
रामपुर नगर प्रमुख थापाले यात्रामा सहभागीहरुलाई धन्यवाद दिदै यात्राले पर्यटन प्रवर्द्धन संगै प्रदेश, जिल्ला र पालिकाहरुलाई एक अर्का संग जोड्न महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । नगरपालिकाले कालीगण्डकी किनारका पर्यटकिय तथा धार्मिक स्थललाई जोड्न पैदल मार्ग संगै साइकल रुट निर्माण गरिरहेको जानकारी दिदै उहाँले नगरपालिकाले पहिलो कार्यक्रम बाट सिक्दै छिट्टै नगरभित्र साइकल यात्रा सञ्चालनको योजना रहेको बताउनुभयो ।

विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहले पाल्पा आफैमा सुन्दर रहेको बताउँदै काउले डाँडाको यात्रा निकै रोमान्चक भएको अनुभव सुनाउनुभयो । यात्रामा भेटिएको उकाली, ओराली, खोला, खोँचले थप अनन्दीत बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काउलेडाँडा पुग्दा निकै रमाईलो लाग्यो । एउटै डाडाँ बाट उत्तर फर्किदा हिमाल देख्न पाईने दक्षिण फर्किदा तराईको समथर भुभाग ।’
सङ्घका अध्यक्ष रुपेशमान महर्जनले पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानअन्तर्गत साइकल यात्रा आयोजना गरिएको बताउनुभयो । यात्रामा विश्व साइकलयात्री तथा सगरमाथा आरोही शाहसँगै यात्रामा विदेशी तथा विभिन्न १८ जिल्लाका २०० साइकलयात्रीको उपस्थिति रहेको छ । तेस्रो संस्करणमा पूर्वी पाल्पाका पर्यटकीय गन्तव्यलाई प्राथमिकता दिइएको महर्जनले बताउनुभयो ।  यात्रामा सहभागी टोलीलाई विभिन्न स्थानमा स्थानीयले भव्य स्वागत गरेका थिए ।

तानसेन बाट सुरु भएको यात्रा रामपुर आइपुग्दा ११० किलोमिटर दुरी पार गरिएको संघका सचिव विज्ञान बज्राचार्यले जानकारी दिनुभयो । समापन कार्यक्रमको सञ्चालन ड्रोन भुसालले गर्नु भएको हो । कार्यक्रमका लागि तानसेन नगरपालिका, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका रतथा नेपाल दर्शन लगायत संस्थाले सहयोग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend