काठमाडौं, सोमबार पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका तीन जना मध्ये दुईजनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । उनीहरु एउटै परिवारका थिए । जसमा ५८ वर्षीय छोरा र ८१ वर्षीया आमामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । ५२ वर्षीया बुहारीको रिपोर्ट भने पोजिटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाले विदेश बाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरू पेप्सीकोला टाउनप्लानिङ स्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए । चैत ४ गते राति १ बजे बेलायत बाट दोहा हुँदै काठमाडौं आएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए । आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको थियो । पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य रहेको छ ।
https://www.facebook.com/mohpnep/posts/872926733195847
फेसबुक मार्फत रिपोर्ट पोजिटिभ आएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ ।, ‘पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डन बाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड–१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ देखिएको छ भने बाँकी १ जनाको हालको परिक्षणमा कोभिड–१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईनमा टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरू संग संलग्नहरूको तचबअष्लन सुरू भएको छ ।’
यस संगै कोरोना संक्रमितको संख्या नेपालमा १६ पुगेको छ । एक जना भने उपचार पछि घर फर्किएका छन् । संक्रमितहरुको अवस्था भने सामान्य रहेको छ ।