भदौ ३१ ।
पाल्पा, तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले कालीगण्डकी करिडोरलाई कृषि, पर्यटन, उद्योग र रोजगारीको आधारका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौली बाँयाटारीमा अत्रौली युनाइटेड क्लबले भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजना गरेको हरितालिका तीज तथा ऋषि पञ्चमी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले कालीगण्डकी करिडोरलाई चीन र भारतसँग जोडिने महत्वपूर्ण मार्गका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।
उहाँले आफ्नो कार्यकालभित्र शालिग्राम करिडोरको सडक कालोपत्रे गरी अत्रौलीसम्म पुग्ने वातावरण बनाउन बताउनुभयो । साथै कालीगण्डकी करिडोरतर्फको पक्की पुल निर्माण गरी त्यसबाट अत्रौली पुग्ने र भीमाद–देउराली पोखरीछाप हुँदै केलादी पुलसम्मको सडकसमेत कालोपत्रे गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
“मेरो कार्यकालभित्र म आफैँ शालिग्राम करिडोरको कालोपत्रे सडक चढेर अत्रौली आउन चाहन्छु। यही कार्यकालभित्र कालीगण्डकी करिडोरबाट पक्की पुल तरेर अत्रौली आउन चाहन्छु,” न्यौपानेले भन्नुभयो, “भिमाददेखि पोखरीछाप हुँदै केलादीको पुलसम्मको सडक कालोपत्रे गरेर यही बाटोबाट आउन चाहन्छु।”
स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर अन्य ग्रामीण तथा ठाडा सडकको स्तरोन्नतिलाई समेत अघि बढाउने उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय नागरिकको दैनिक जीवन, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजार पहुँचका लागि सडक पूर्वाधार पहिलो आवश्यकता हो ।
न्यौपानेले कालीगण्डकी करिडोरलाई केवल सडकका रूपमा मात्र नभई भविष्यको आर्थिक विकासको आधारका रूपमा हेर्नुपर्ने बताउनुभयो । करिडोर आसपासका ठूला फाँट तथा टार क्षेत्रमा सिँचाइको व्यवस्था गर्न सके खाद्यान्न उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भविष्यमा ती क्षेत्रलाई औद्योगिक ग्रामका रूपमा समेत विकास गर्न सकिने धारणा राख्नुभयो । साथै भिमादबाट कावासोतीतर्फको दूरीलाई छोट्याउन सुरुङमार्गको सम्भावनाबारे समेत अध्ययन तथा छलफल अघि बढाउने बताउनुभयो । उहाँका अनुसार पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गलाई भिमाद हुँदै कालीगण्डकी करिडोर र कालीगण्डकी करिडोर बाट कावासोती सँग जोड्ने गरी करिब ३९ किलोमिटर दूरीमा सुरुङसहितको सडक निर्माण गर्न सकिने सम्भावना रहेको छ।
“भीमादबाट कालीगण्डकी करिडोर हुँदै कावासोती जोड्ने गरी दुईवटा सुरुङ बनाउन सकियो भने करिब ३९ किलोमिटरको दूरीमा पृथ्वी राजमार्ग र महेन्द्र राजमार्ग जोड्न सकिन्छ,” उहाँले भन्नुभयो । पूर्वाधार निर्माणले कालीगण्डकी करिडोर आसपास रहेका हजारौँ हेक्टर जमिनको उपयोग बढाउन सकिने उहाँको भनाइ थियो । सिँचाइमार्फत कृषि उत्पादन बढाउने, पर्यटनको सम्भावना विस्तार गर्ने तथा उद्योग स्थापना गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना आवश्यक रहेको उहाँले बताउनुभयो । न्यौपानेले विकासको पहिलो आधार ‘कनेक्टिभिटी’ भएको उल्लेख गर्दै सडकलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकता बनाएको बताउनुभयो । त्यसपछि सिँचाइ र विद्युतीय पूर्वाधारलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो ।
“पहिलो प्राथमिकता सडक, त्यसपछि सिँचाइ र त्यसपछि नाङ्गा तारलाई कालो तारमा परिणत गरेर दुर्घटनाबाट बचाउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छु,” उहाँले भन्नुभयो ।
उहाँले जलस्रोतको अधिकतम उपयोगमार्फत नेपालको आर्थिक विकासको मोडल परिवर्तन गर्न सकिने बताउनुभयो । नेपालका नदी तथा जलस्रोतलाई सिँचाइ, खानेपानी, जलविद्युत् तथा हाइड्रोजन ऊर्जामा प्रयोग गरी स्वदेशमै उत्पादन र रोजगारी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “जब बिजुली बल्छ, उद्योग चल्छ। उद्योग चलेपछि रोजगारी खुल्छ र रोजगारीसँगै देश आत्मनिर्भर बन्छ,” न्यौपानेले भन्नुभयो, “स्वदेशी कच्चा पदार्थबाट उद्योग खोलेर बिजुली खपत गराउँदै उत्पादन निर्यात गर्न सकियो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ।”
कालीगण्डकी करिडोरलाई यस्तो आर्थिक गतिविधिको मेरुदण्ड बनाउन सकिने उहाँको भनाइ थियो। चालु वर्षमै कम्तीमा तीनवटा सिँचाइ आयोजना अघि बढाउने र आफ्नो कार्यकालभरि सुक्खा टारहरुलाई खाद्यान्न उत्पादनको भण्डारका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै न्यौपानेले आफू राजनीतिक गतिविधिभन्दा जनसेवालाई प्राथमिकतामा राखेर काम गर्न आएको बताउनुभयो ।
भाद्र १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यौपानेले आफू बाढीपछि उद्धार कार्यमा समेत निरन्तर खटिएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष रन बहादुर राना, घिरिङ गाउँपालिकाका उपाध्यक्ष राधादेवि अधिकारी, फिल्म निर्माता समाजसेवि एवं कार्यक्रमका प्रायोजक मोहन विश्वकर्मा (गुड्डु), अधिवक्ता विष्णुभक्त सिग्देल, आरके पोखरेल लगाएतले शुभकामना मन्तव्य सहित स्थानीय समस्याको उठान गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सचिव, गायक एवं सर्जक प्रकाश सपूत, गायिका शान्तारानी परियारको बेजोड प्रस्तुति रहेको थियो । उहाँहरुको प्रस्तुतिमा हजारौं दर्शकहरु झुमेका थिए ।
क्लवका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम धुर्वराज सिग्देलको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन शान्ति श्रेष्ठले गर्नु भएको हो । यस्तै अत्रौलीमा भलिबल प्रतियोगिता पनि जारी रहेको छ ।





© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend