शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

सञ्चार मञ्च पाल्पाको अधिवेशन : पत्रकारिताको विश्वसनीयता र मिडिया सबलीकरणमा सरोकारवालाको जोड

अध्यक्षमा माधवप्रसाद अर्याल


  • शुक्रबार, भाद्र २६ २०८३ , अपराह्न १०:४३ बजे

भदौ २६ ।
पाल्पा, सञ्चार मञ्च पाल्पाको १३औँ साधारण सभा तथा सातौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनमा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चार क्षेत्रका अगुवा तथा व्यवसायीहरूले जिल्लाको विकास, पर्यटन प्रवर्द्धन, सुशासन, पारदर्शिता र सञ्चार क्षेत्रको संस्थागत सबलीकरणका लागि मिडिया र सरोकारवाला पक्षबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।



सञ्चार मञ्च पाल्पाका अध्यक्ष पदम गेरैको अध्यक्षतामा भएको कार्यक्रम पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाको प्रमुख अतिथ्यतामा भएको थियो । साधारण सभा तथा अधिवेशनको उट्घाटन गर्नु हुँदै प्रमुख अतिथी रानाले पाल्पा पर्यटकीय तथा उत्पादनका दृष्टिले उच्च सम्भावना बोकेको जिल्ला भएकाले स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्द्धनमा सञ्चार माध्यमले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको विकास र समृद्धिका लागि जनप्रतिनिधि र सञ्चार क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

सांसद रानाले ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय क्यालेन्डरमा समावेश गरी राष्ट्रपतिको उपस्थितिसहित राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने तथा रामपुरलाई वैदिक सहरका रूपमा विकास गर्ने योजनामा सञ्चार माध्यमले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमले निष्पक्ष खबरदारीसँगै जिल्लामा भएका असल अभ्यासको दीर्घकालीन अभिलेखीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विकास निर्माण र पर्यटकीय गतिविधिलाई राष्ट्रियस्तरसम्म पुर्याउन मिडिया र जनप्रतिनिधिबीचको साझेदारीलाई थप बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री वीरबहादुर रानाले पत्रकारिता केवल जीविकोपार्जनका लागि गरिने पेसा नभई निष्पक्षता र सामाजिक उत्तरदायित्व वहन गर्ने संवेदनशील क्षेत्र भएको बताउनुभयो । राजनीति तथा नेतृत्वप्रतिको जनविश्वास खस्किँदै गएको अवस्थामा सञ्चार क्षेत्र राजनीतिक आस्था र स्वार्थभन्दा माथि उठ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । पत्रकारले आफ्नो कथनी र करणीमा एकरूपता कायम गर्दै पेसागत मर्यादा र आत्मसम्मान जोगाउन आत्मसमीक्षा गर्नुपर्ने प्रदेश सभा सदस्य रानाको भनाइ थियो । पत्रकारिता क्षेत्रप्रति नागरिकको विश्वास कायम राख्न तथ्य, सत्य र जिम्मेवारीमा आधारित पत्रकारिता आवश्यक रहेको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री खेमबहादुर सारुले जनप्रतिनिधि र सञ्चार माध्यम दुवै सुशासन, पारदर्शिता र समृद्धिका लागि परिपूरकका रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । समस्याको सतहमा मात्र नभई जरासम्म पुगेर समाचार सम्प्रेषण गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उहाँले पत्रकारको आत्मसम्मान र आपसी हार्दिकता जोगाउने वातावरण निर्माणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । मिडिया सबलीकरण र मर्यादित पत्रकारिताका लागि सञ्चार मञ्च वा पत्रकार महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले जिल्लाको विकास गतिविधिमा सञ्चार क्षेत्रलाई साझेदारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका उपसभापति सुमन गैरेले स्थानीय तह र सञ्चार माध्यम दुवैले आत्मसमीक्षा गर्दै सुशासनका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रभित्र रहेको आपसी फाटो हटाएर मात्रै पेसागत विकास र संस्थागत सबलीकरण सम्भव हुने उहाँको भनाइ थियो । नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सञ्चार क्षेत्रमा हुने लगानीलाई उपलब्धिमूलक र प्रतिफलमुखी बनाउन स्पष्ट रणनीति आवश्यक रहेको बताउनुभयो । स्थानीय विकासका साझेदार र सञ्चारगृहबीच दिगो सहकार्यको ढाँचा तयार गरी त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले स्थानीय तह र मिडिया एकअर्काका परिपूरक भएकाले कमीकमजोरी औँल्याउँदै सुधारका लागि अघि बढ्नुपर्ने बताउनुभयो । सकारात्मक खबरदारीले मात्रै मिडिया सबलीकरणसँगै विकासमा दिगो साझेदारी निर्माण गर्न सकिने उहाँको भनाइ थियो । नेकपा पाल्पाका संयोजक नेत्रप्रसाद पाण्डेयले सञ्चार क्षेत्रको संस्थागत विकासका लागि नीतिगत स्पष्टता र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । सत्यतथ्य सूचना प्रवाह गर्दै विकास निर्माणका काममा पत्रकारहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले घटनामा आधारित वस्तुनिष्ठ पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सञ्चार माध्यमको दिगोपनका लागि स्थानीय सरकारबाट संरक्षण र सबलीकरणको वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले पत्रकारितालाई थप विश्वसनीय बनाउँदै अन्तरपालिका सम्बन्ध जोड्ने पुलका रूपमा सञ्चार माध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । बिग्रिएका विषय मात्र उजागर गर्ने नभई मिडिया र जनप्रतिनिधिबीचको दूरी घटाउने तथा एकअर्काका असल अभ्यास आदानप्रदानमा समेत सञ्चार माध्यमले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले खोजमूलक र मानवीय संवेदनशीलतामा आधारित सत्यतथ्य समाचार लेखनमा पत्रकारले जोड दिनुपर्ने बताउनुभयो । अनुसन्धानमूलक पत्रकारिताको प्रवद्र्धन गर्दै निष्पक्षता कायम गर्न सबै पक्ष सजग हुनुपर्ने उहाँको भनाइ थियो । बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्थानीय सरकारका गल्ती औँल्याउँदै नागरिकसम्म सही सूचना पुर्याउन सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । असल कामको सार्वजनिकीकरण र गलत कामप्रतिको खबरदारीले लोकतन्त्रलाई थप सुदृढ बनाउने उहाँले बताउनुभयो ।

रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सञ्चार माध्यमले व्यक्ति विशेषलाई केन्द्रमा नराखी सबै जनप्रतिनिधिका कामलाई समान स्थान दिनुपर्ने बताउनुभयो । स्थानीय तहका विकास निर्माणका गतिविधिमा उपाध्यक्षसँग सम्बन्धित कार्यक्रमलाई पनि प्राथमिकताका साथ समेटिनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले व्यक्ति वा मिडिया रिझाउने प्रवृत्तिभन्दा माथि उठेर सुशासन र पारदर्शितामा आधारित पत्रकारिता गर्नुपर्ने बताउनुभयो । पत्रकारितालाई जवाफदेही बनाउँदै असल अभ्यासको दीर्घकालीन दस्तावेज निर्माणमा ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले ‘भ्यूज’ को पछि लाग्नुभन्दा वास्तविक र सत्यतथ्य ‘न्यूज’ मा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । पूर्वाग्रह त्यागेर संकटमा परेको पत्रकारिता क्षेत्रको संरक्षण र विकासका लागि सबै पक्षले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
महासंघका पूर्वअध्यक्ष राजेशकुमार अर्यालले पत्रकारिता कर्मबाट मात्र जीविकोपार्जन गर्न कठिन भइरहेको वर्तमान यथार्थलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । सञ्चारकर्मीको पेसागत सुरक्षा र मिडिया सबलीकरणका लागि ठोस कदम चाल्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नालले स्थानीय तह पारदर्शी बन्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारका गतिविधि पारदर्शी र नागरिकप्रति जवाफदेही भएमा सञ्चार माध्यमले पनि तथ्यमा आधारित खबरदारी गर्न सहज हुने उहाँको भनाइ थियो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंहले पर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि मिडियासँगको साझेदारी फलदायी रहेको बताउनुभयो । पाल्पाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन व्यवसायी, स्थानीय सरकार र सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्कीले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्लाको आर्थिक तथा व्यवसायिक विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । व्यापार तथा व्यवसायका गतिविधि, स्थानीय उत्पादन र बजारका सम्भावनालाई सञ्चार माध्यममार्फत थप प्रचारप्रसार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा श्रीनगर भलिबल संघका अध्यक्ष कृष्ण आलेले खेलकुद र युवाको क्षेत्रमा संघले गर्दै आएको गतिविधिमा सञ्चार क्षेत्रसँग सहकार्य हुँदै आएको बताउनुभयो । सञ्चार माध्यमसँगको सहकार्य सोचेभन्दा सफल भएको उल्लेख गर्दै खेलकुद, युवा र सामाजिक गतिविधिको प्रवर्द्धनमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

अधिवेशनमा जिल्लाको सञ्चार क्षेत्रको वर्तमान अवस्था, पत्रकारको पेसागत सुरक्षा, सञ्चार माध्यमको आर्थिक तथा संस्थागत दिगोपन, स्थानीय तहसँगको सम्बन्ध, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन, खेलकुद तथा युवाको सहभागिता र सञ्चार क्षेत्रको आगामी भूमिकाका विषयमा सञ्चारमञ्च पाल्पाका संस्थापक अध्यक्ष माधव अर्यालले जानकारी गराउनु भएको थियो ।
साधारण सभामा सञ्चार मञ्च पाल्पाका उपाध्यक्ष रिमा सोमैले ५ बुँदे पाल्पा घोषणा पत्र प्रस्तुत गर्नु भएको थियो ।  कार्यक्रमको सञ्चालन महासचिव कमल अधिकारीले गर्नु भएको हो ।अधिवेशनले माधव प्रसाद अर्यालको अध्यक्षतामा सात सदस्य कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कमल अधिकारी, महासचिवमा रेखिराम राना, सचिवमा  दयाराज न्यौपाने, कोषाध्यक्षमा  रीमा सोमै, सदस्यहरुमा  भुवन रायमाझी र सरस्वती दंगाललाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन संयोजक गोविन्द प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend